ललितपुर, १२ माघ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सबै नागरिकलाई अनिवार्य स्वास्थ्य विमा अभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ । जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजना तथा बागमती गाउँपालिकाको समन्वयमा शुक्रबारदेखि प्युटारमा सुरु भएको दुईदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर तथा जनस्वास्थ्य प्रवर्द्धन अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
स्वास्थ्य बिमाको महत्वमाथि प्रकाश पार्नुहुँदै मन्त्री थापाले स्वास्थ्य विमाको धेरै फाइदा रहेको र यसले नागरिकलाई आर्थिक तथा स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बताउनुभयो । मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन मन्त्रालयले विशेष पहल गरिरहेको बताउनुभयो । “दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभावका कारण बसाइँसराइ भइरहेकाले यो समस्यालाई समाधान गर्न सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको छ।रोगका कारण हिजो देखेको मान्छे आज नहुने परिस्थिति हटाउन सरकार लागि परेको छ ।” उहाँले भन्नुभयो।
शिविरमा गरिएको आँखाको जाँचमा मोतिबिन्दु देखिएका बिरामीलाई निःशुल्क अपरेशनलगायत अन्य उपचार प्रदान गरिने मन्त्री थापाले बताउनुभयो । ग्रामीण स्वास्थ्य संस्थाहरूमा टेलिमेडिसिनमार्फत सेवा विस्तार गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभयो।
विद्यालयहरूमा स्वास्थ्य समस्याको सहज व्यवस्थापनका लागि माध्यमिक विद्यालयमा स्कुल नर्सको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो। उहाँले मानसिक स्वास्थ्य समस्याहरूलाई सम्बोधन गर्न मनोचिकित्सा सेवा विस्तार गरीरहेको पनि बताउनुभयो। मन्त्री थापाले नसर्ने रोगहरूको रोकथामका लागि योग र ध्यानको अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो। साथै, आफ्नो स्वास्थ्य नियमित रूपमा जाँच गर्न नागरिकलाई आग्रह गर्दै उहाँले रोग लाग्नुअघि नै सचेत हुनुको महत्त्व प्रस्ट पार्नुभयो।
बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व बागमती प्रदेश सभा सदस्य चेतनाथ सन्जेल, बज्रबाराही अस्पतालका अध्यक्ष रामहरी घिमिरे, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख सागर प्रसाद घिमिरे, जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेल, र सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईलगायतको उपस्थिति थियो। कार्यक्रममा मन्त्री थापाले ग्रामीण अल्ट्रासाउन्ड मेसिन पनि हस्तान्तरण गर्नुभयो । स्वास्थ्य सेवामा पहुँच सुधार्न सरकारको प्रयास जारी रहेको सन्देश कार्यक्रममा उपस्थित सरोकारवालाले समेत व्यक्त गरे।

