मकवानपुर, १४ भदौ । त्यसो त आज वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थाप मगरको आज जन्मदिन । बिभिन्न व्यक्तिले आफ्नो जन्मदिन बिभिन्न तरिकाले मनाउँछन् । तर मन्त्री थापामगरले आज आफ्नो जन्मदिन अनाथ, असहाय र आफ्ना एवं आफन्त कोही नभएका अनाथहरुसंगै बसेर मनाउनु भएको छ ।

उहाँले हेटौँडाको मानव सेवा आश्रममा रहेका अनाथ, असहाय र परिवार विहीनहरुलाई बिहानीको खाना खुवाउनु भयो । उहाँ आफै उनीहरुसंगै बसेर खाना खानु भयो । त्यो दृश्यले स्तब्ध र खुसी भएका अनाथ, असहाय र परिवार विहीनहरुलाई साच्चै आफ्नै संरक्षक आएको अनूभूति दिलायो । उनीहरुको मुहारमा प्रसन्नता देखियो । त्यही प्रशन्नताले मन्त्री थापाको मन निकै आनन्दित बनायो ।

त्यति मात्रै होईन कोही नभएका उनीहरुको स्वास्थ्य परीक्षण पनि उहाँले गराउनु भयो । उहाँले आश्रममै हेटौडा अस्पतालको विशेषज्ञ टोली लगेर उहाँहरुको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गराउनु भयो । उहाँले कोही नहुनेहरुका लागि हामी छौँ भन्दै आश्रममा आश्रित सबैको हेटौडा अस्पतालमा निःशुल्क स्वास्थ्य उपचारको व्यबस्थ गर्ने र सबैलाई सरकारको बिमामा आबद्ध गराउने घोषणा गर्नुभयो ।

‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, हाम्रो प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दैछ’, मन्त्री थापा मगरले भन्नुभयो ‘बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्ष बजेट बनाउँदा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बिमाको रकम सरकाले नै तिरिदिने व्यवस्था गरेको छ । अब निःशुल्क उपचार हुन्छ, ढुक्क हुनुहोस् ।’

सबैभन्दा ठुलो धर्म मानव सेवा नै हो भन्दै उहाँले उहाँले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने सुझाउनु भयो । मन्त्री थापाले भन्नुभयो, ‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य र धर्मको काम यही हो’ । मानव सेवा आश्रमले मानवीय सेवाको काम गरेको भर्न्द यहाँ आश्रितहरूको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानव सेवा आश्रमले ईश्वरीय काम गरेको चर्चा गर्नुभयो ।

सरकारको तर्फबाट आश्रममा रहेकाहरुलाई कम्तीमा खानाको व्यवस्थापनका लागि सेवा दिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार आएको पनि बताउनुभयो । उहाँले प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिने बताउदै हेटौँडा अस्पतालको नामाकरण कहिल्यै पनि परिवर्तन नहुनेमा ढुक्क हुन र विरोधका लागि विरोध नगर्न नागरिकलाई आग्रह गर्नुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको भन्दै उहाँले त्यसको प्राक्टिकलका लागि प्रतिष्ठान मार्फत हेटौँडा अस्पताल सञ्चालनमा ल्याएको बताउनुभयो । मन्त्री थापाले हेटौँडा अस्पताललाई ३०० शय्यामा सुरु गरेको बताउदै अस्पतालमा अहिले दैनिक १३ सय देखि १४ सय बिरामीले ओपिडी सेवा लिनु गौरबको विषय भएको बताउनुभयो । उहाँले मकवानपुरवासीले मात्र नभई मधेस प्रदेशका चार जिल्लाले समेत यहाँबाट सेवा लिइरहेको बताउदै सोही प्रतिष्ठान मार्फत हेटौँडामा एमडीको पढाइ सुरु भएको बताउनुभयो ।

मन्त्री थापामगरले भन्नुभयो, ‘अहिले आठ वटा कोटा प्राप्त भएर एमडी पढाइ सुरु भएको छ, एमबिबिएसको ५० वटा कोटा प्राप्त भएर पढाइ सुरु हुँदैछ, केही महिना पछाडि हेटौँडा अस्पतालमा अब एमबिबिएसको पनि पढाइ सुरु हुनेछ, त्यसैगरी अहिले स्नातक तहमा विभिन्न विषयमा ३५८ जनाको पढाइ सुरु भइरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताल नजोडिएको भए यो अवसर प्राप्त हुने थिएन ।’

अबको केही वर्ष पछि हेटौँडा डाक्टरहरू उत्पादन गर्ने र डाक्टरहरु सहरको रुपमा परिचित हुने बताउदै उहाँले भन्नुभयो, ‘यहाँ त डाक्टरहरूको पढाइहुन्छ भनेर त्यसको नामाकरण नै परिवर्तन हुनेछ, अब सबै मिलेर हेटौँडा अस्पताललाई ५०० शय्याको अस्पताल बनाउनु पर्छ ।’ मकवानपुरवासीको सबैको साथ र सहयोग रहेमा हेटौडा अस्पताललाई अबको केहीवषमै काठमाडौंको टिचिङ अस्पतालको स्तरमा पुर्याउन सकिने बताउनुभयो

