शनिबार, चैत्र १४, २०८२ | Sat March 28, 2026


एसईई परीक्षामा  यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने

एसईई परीक्षामा  यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने



भक्तपुर, १३ चैत : राष्ट्रिय परीक्षा बोर्डले यहीँ चैत १९ देखिदेखि देशभरका सबै परीक्षा केन्द्रबाट एकै समयमा सुरु गर्ने यसवर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको तयारी पुरा गरेको छ । चैत २९ गते सम्पन्न हुने एसईई परीक्षामा  यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा दिने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिनुभयो ।
जसमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको संख्या बढी रहेको छ ।
यसवर्ष दुई लाख ५७ हजार ६१३ जना छात्रा, दुई लाख ५४ हजार ८०७ छात्र र अन्य ७ जना परीक्षामा सहभागि हुने भएका छन् । जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिदैछन् ।
यसवर्ष सात प्रदेश मध्ये कोशी प्रदेशबाट ८२ हजार ४८७ जना, मधेश प्रदेशबाट ९० हजार २४३ जना, वागमती प्रदेशबाट एक लाख नौ हजार ५१३ जना, गण्डकी प्रदेशबाट ४३ हजार ९७२ जना, लुम्बिनी प्रदेशबाट ९१ हजार ८०२ जना, कर्णाली प्रदेशबाट ३९ हजार ७६९ जना र सुदुर पश्चिमबाट ५४ हजार ६३५ जना विद्यार्थी परीक्षामा सहभागि हुनेछन् ।
बोर्डले परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरेको छभने देशभरका ११ हजार ३७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागि हुने भएका छन् । परीक्षाको सम्पूर्ण तयारी पुरा गरेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
चैत १९ गते विहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ एवं २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
बोर्डले यसवर्ष एसइई परीक्षाको सामूहिक अनुगमनमा रोक लगाएको छ । परीक्षा केन्द्र अनुगमनका नाममा विभिन्न संघसंगठनका प्रतिनिधि हलमा प्रवेश गर्दा परीक्षा दिइरहेका परीक्षार्थीको लेखन कार्यमा अवरोध पुगेको गुनासो व्यापक आएपछि बोर्डले सामूहिक अनुगमनमा रोक लगाएको उहाँले जानकारी दिनुभयो ।
अनुगमनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन गरिएको जिल्ला परीक्षा समन्वय समितिका आधिकारिक प्रतिनिधिबाट परीक्षा केन्द्रको बाहिर मात्र अनुगमन गर्ने बोर्डले निर्णय गरेको उहाँले जानकारी दिनुभया ।
पत्रकारले परीक्षा केन्द्रको बाहिरी दृश्य मात्र छायांकन गर्न वा तस्विर लिन मिल्ने जानकारी दिदै उहाँले परीक्षा हलमा केन्द्राध्यक्ष तथा त्यस दिन खटिएका प्रतिनिधिले मात्र अनुगमन गर्न सक्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।  परीक्षा हलभित्र दृश्य छायाकन गरी सामाजिक सञ्जालमा राखेर विद्यार्थीमा विचलन नल्याउन बोर्डले सबैमा आग्रह गरेको छ ।
परीक्षा नियन्त्रण कार्यालयले सातै प्रदेशका लागि सबै जिल्लामा प्रश्नपत्र पुर्याएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाई सम्पन्न गरेको प्रश्नपत्र ढुवानी  गरि सुरक्षा नियकाको सहयोगमा सब जिल्लामा पुर्याई सकेको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिनुभयो ।
सातै प्रदेशमा फरक प्रश्न पत्र छपाई गरिएको छ । उहाँका अनुसार परीक्षामा सोधिने प्रश्न ६ वटै अनिवार्य विषयका प्रदेश अनुसार फरकफरक प्रश्नपत्र छापिएको र यदि कतै प्रश्नपत्र बाहिरियो भने पनि सम्बन्धित प्रदेशको निश्चित विषयको मात्र परीक्षा रद्ध गरि पुनः प्रश्नपत्र छपाई गर्न सकिने व्यबस्था गरिएको छ ।
प्रत्येक परीक्षा केन्द्रमा जिल्ला परीक्षा समितिले तय गरे अनुसार आवश्यकताको आधारमा सुरक्षाकर्म परिचालन हुनेछन् । यद्यपी प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कायालय सहयोगी र अन्य दुई कर्मचारीको व्यबस्था गरिएको बोर्डले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
यो पनि पढ्नुहोस  भक्तपुर अस्पतालमा ८ करोडको लागतमा सिटी स्क्यान मेशिन र एक करोड १० लाखको लागतमा मेमोग्राम मेशिन सञ्चालनमा ल्याउने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित