-नबराज काफ्ले
भक्तपुर, १६ जेठ : गैर सरकारी संस्था महासंघ गैसस नेपाल, जिल्ला शाखा भक्तपुरको २१ औं साधारणसभा विभिन्न कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न भएको छ। सभामा सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण, सुशासन स्मारिका विमोचन तथा नागरिक समाजको भूमिकाबारे गहन छलफल भएको छ ।
कार्यक्रमको सभापतित्व गैसस महासंघ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले गर्नुभएको थियो भने वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथि वक्ताका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन सचिव लक्ष्मी कार्की अधिकारीले गर्नुभयो ।
कार्यक्रमको मुख्य आकर्षण भनेको अध्यक्ष अनिता पाण्डेद्वारा प्रमुख अतिथि मन्त्री किरण थापालाई सामाजिक सुरक्षा र स्वास्थ्य बीमासम्बन्धी ध्यानाकर्षण पत्र हस्तान्तरण गरिनु थियो । सो पत्रमा उठाइएका मागहरूको कार्यान्वयनमा मन्त्री थापाले ठोस प्रतिबद्धता व्यक्त गर्नुभयो, जसलाई उपस्थित प्रतिनिधिहरूले सकारात्मक रूपमा स्वागत गरे ।

मन्त्री थापाले भन्नुभयो, गैरसरकारी संस्थाहरू राज्य र नागरिकबीचको महत्त्वपूर्ण सेतु हुन् । सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ र उठाइएका सवालहरूलाई प्राथमिकतामा राखिनेछ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोद खड्काले नागरिक समाजको भूमिकालाई सराहना गर्दै जिल्ला प्रशासन सँगको सहकार्यलाई थप प्रभावकारी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो(गैसस महासंघले गैरसरकारी संस्थाहरूको समस्याहरू सरकार समक्ष पुर्याउने काम गर्दछ, यो अत्यन्त महत्त्वपूर्ण छ ।
गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टाराईले भक्तपुर शाखाको ऐतिहासिक यात्रा र अगामी कार्यदिशाबारे मार्गदर्शन गर्नुभयो । उहाँले देशभरका गैरसरकारी संस्थाहरू पारदर्शिता र जवाफदेहितासहित काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रमको अर्को विशेष पक्ष भनेको सुशासन स्मारिका विमोचन थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा उपस्थित सम्पूर्ण महानुभावहरूको सामूहिक उपस्थितिमा स्मारिकाको विमोचन सम्पन्न भयो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो ।
सभापति अनिता पाण्डेले २१ वर्षको यात्रालाई स्मरण गर्दै संस्थाका उपलब्धिहरू प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, गैरसरकारी क्षेत्र केवल सेवा गर्ने माध्यम मात्र होइन, यो परिवर्तनको आवाज हो । आगामी दिनमा सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार र सुशासनका लागि संस्था थप सक्रिय रहनेछ ।
कार्यक्रममा गैसस महासंघ भक्तपुरका सदस्य संस्थाका प्रतिनिधिहरूको उल्लेख्य संख्यामा उपस्थित रहेको थियो ।

