भक्तपुर, १८ जेठ : चाँगुनारायण नगरपालिका वडा नं. ६ को पर्यटकीय आधारशिलाको रुपमा पहिचान बोकेको नगरकोट, यतिखेर तीन तहकै सरकारको लगानीले मुहार फेरिदै गएको छ ।
नगरकोट जाने सडकको १० वर्षको कुरुपताले खस्कदै गएको नगरकोटको पहिचानलाई नगरपालिकाले सडक कालोपत्र गरेसंगै र तीनतहकै सरकारको वार्षिक २० करोड भन्दा माथिको लगानीले नगरकोटमा विकासले मुहार फेरिदै गएकोमा खुसी छन् यहाँका दलका प्रतिनिधिहरु एवं यहाँका बासिन्दा ।

आज चाँगुनारायण नगरपालिका वडा नं. ६ वडा कार्यालय अगाडिको खुल्ला चौतारोमा राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा सम्पन्न सार्वजनिक सुनुवाईमा स्थानीय दलीय जनप्रतिनिधिदेखि स्थानीयवासीसमेत नगरकोटको विकासले मारेको फड्को देखेर खुसी व्यक्त गर्दै वडाध्यक्ष धनबहादुर लामाको खुलेरै चौतर्फी प्रशंसा समेत गरे ।
कार्यक्रममा वडाध्यक्ष धनबहादुर लामाले नगरपालिका, वागमति प्रदेश सरकार र संघीय सरकारको वार्षिक २० करोड भन्दा बढीको लगानीबाट नगरकोटको मुहार फेरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विगत चार वर्षमा नगरकोटले मुहार फेरेको छ, ठेकेदारले अलपत्र पारेको भक्तपुर नगरकोट सडक नगरपालिकाले कालोपत्र गर्यो, नगरकोट भ्रमण वर्ष २०८२ को आयोजना भयो, यसक्रममा चाँगुनारायण नगरपालिकासंगै नगरकोटसंग छोएको काभ्रेको मण्डन देउपुर, बनेपा, काठमाडौंको शंकरापुर नगरपालिकाले नगरकोट जोडेने सडक कालोपत्र गरे, पर्यटकको आगमन ह्वात्तै बढ्यो, नगरकोटवासीमा खुसी छायो ।’खानेपानीको ट्यांकी निर्माण गरि घरघरमा धारो वितरण, बतासे डाडोमा बुद्ध मूर्तिदेखि शालिक, बिभिन्न पर्यटकीय संरचना निर्माण, नगरकोट बसपार्कदेखि होटलहरुमा जाने सडकको स्तरोन्नती, स्वास्थ्य, शिक्षाको पहुँचमा बृद्धि, सरसफाई अभियान, शुक्रबारे हाट बजार, पर्यटकको सुरक्षा यहाँको विकासको गति भएको बताउनुभयो ।

नगरकोटमा तामाङ्ग संग्रहालय बनाउने योजनालाई उपयुक्त विकल्पको खोजी भइरहेको, यहाँ कम्तिमा १० शययाको अस्पताल सञ्चालन गर्ने योजना रहेको बताउदै नगरकोटलाई सरकारले पर्यटकीय क्षेत्र घोषणा गर्न माग गरिरहेको बताउनुभयो ।
वडाध्यक्ष लामाले आफु निर्वाचित भएपश्चात विकास र सुशासनलाई एकै साथ कार्य गरेको भन्दै समृद्ध नगरकोटको परिकल्पनालाई सार्थकतामा पुर्याउन जनप्रतिनिधि तथा जनताको सहकार्यले सफलता हात लाग्ने बताउनुभयो । कतिपय जनताले आशा र अपेक्षा गरिएको भन्दा बढी कामहरु भएका छन्, भने अझैं पनि धेरै कामहरु गर्न बाँकी छन् भन्दै उहाँले सिमित स्रोत र साधनका बाबजुत पनि वडावासीको भावनालाई समेट्ने प्रयास गरेको बताउनुभयो ।
वडामा सामुदायीक तथा संस्थागत गरी ११ वटा विद्यालयहरु रहेको जानकारी गराउँदै उहाँले चेतना आधारभुत विद्यालयमा विद्यार्थीको अभावका कारण बन्द गरिएको जानकारी दिनुभयो । वनलाई पर्यटनसँग जोड्ने कार्य भइरहेको उल्लेख गर्दै उहाँले जग्गा पासमा नगरपालिकाका सवै वडाहरुमा बराबर राजस्व नीतिगत रुपमा नै तोकिएको बताउनुभयो । चालु आवमा जग्गाको कारोवार कम भएका कारण राजस्व समेत कम उठेको बताउँदै उहाँले भ्रमण वर्ष सकिएको जानकारी गराउनुभयो । भ्रमण वर्षमा पहिलेभन्दा कम आन्तरिक तथा बाह्य पर्यटकहरु आएको जानकारी दिँदै उहाँले परिणामको भन्दा बढी गुणस्तरीय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडा सचिव राजेन्द्र गणेशले वडामा चालु आर्थिक वर्षमा यस वडाबाट चालू आ.ब. एक करोड ४७ लाख १३ हजार ७३३ रुपैंया विभिन्न शिर्षकमा रावस्व संकलन गरेको बताउनुभयो ।
उहाँले १०० योजनाहरु स्वीकृत भएकोमा हालसम्म ६२ वटा सम्पन्न भइसकेको र ३८ वटा निर्माणको प्रक्रियामा रहेको १०१ वटा घटना दर्ता गराइएको, चालू आ.ब.मा ३९१ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको, तेलकोट–नगरकोट सडक खण्ड कालोपत्रे भएको, नगरकोटमा खेलकुद कार्यक्रम सम्पन्न गरेको, जेष्ठ नागरिक, अपाङ्गता, महिला, वालबालिकाको हित र अधिकारका पक्षमा विभिन्न प्रकारका तालिम तथा कार्यक्रमहरु सञ्चालन गरेको, विपद् व्यवस्थापन तयारी पूर्ण रुपमा भइरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपालगायतका जनप्रतिनिधिहरुले समेत नगरकोटको विकास देखेर जनप्रतिनिधिको कार्यप्रति खोट लाउने ठाउँ नभएको र सन्तुष्ट रहेको बताएका थिए ।

कार्यक्रममा नगरकोट प्रहरी प्रभागका प्रमुख शिव थपलियाले जनप्रतिनिधि र प्रहरीको उत्कृष्ट समन्वयमा नगरकोट क्षेत्र शान्ति क्षेत्र रहेको, कुनै घट्ना नभएको, शान्ति सुरक्षा कायम भएको बताउदै समस्या आए १० मिनेटमा नै सम्बन्धित क्षेत्रमा पुगेर समस्या समाधान गर्ने गरेको तथा विपद् व्यवस्थापनका सम्पूर्ण कार्यहरु पूर्ण तयारी रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष पेशल आचार्यले नगरकोटको विकासले यहाँका बासिन्दाको आयस्तरले फड्को मारेको र रोजगार सृजना भएको बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्वागत गर्नु भएको थियो भने सस्थाका सल्लाहकार दिवस गुरागाईले कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो । सचिव हेमराज ढकालले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीलगायतले नगरकोट क्षेत्रको समग्र विकासका परिदृश्यलाई शब्दमार्फत राख्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

