शुक्रबार, जेष्ठ २९, २०८३ | Fri June 12, 2026


सूर्यविनायक नगरपालिका वडा नं. १० सार्वजनिक सुनुवाई सम्पन्न

सूर्यविनायक नगरपालिका वडा नं. १० सार्वजनिक सुनुवाई सम्पन्न



भक्तपुर, २८ जेठ । जनताको चासो, गुनासो र सुझाव संकलन गरी जनअपेक्षा अनुसार विकास र समृद्धिसँगै सार्वजनिक सेवा प्रवाहको कार्यसम्पादन गर्ने लक्ष्यका साथ सूर्यविनायक नगरपालिका वडा नं. १० मा वडास्तरीय सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

क्रियाशिल पत्रकार मञ्च तथा सूर्यविनायक नगरपालिकाको संयुक्त आयोजनामा आज वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जनप्रतिनिधिले निर्वाचित भएपछि हालसम्म भए गरेका सार्वजनिक सेवा प्रवाहको साथै भौतिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा पर्यावरणीय विकासको बारेमा व्यापक छलफल तथा आगामी योजनाको बारेमा विस्तृतमा छलफल गरिएको छ ।

कार्यक्रममा वडा सचिव कुमार राउतले राजनीतिक, प्रसाशनिक, विपद व्यवस्थापन तथा पूर्वाधार विकासको बारेमा नगर कार्यपालिका तथा वडागत रुपमा सञ्चालन भएका योजनाहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘१६ वटा वडास्तरीय योजनाहरु सडक, शिक्षा, चौतारी, पार्क, बगौचालगायतका कार्यहरुमा रु एक करोड ३० लाख बजेट विनियोजन भएको थियो । जसमा १५ वटा सम्पन्न भइसकेका छन् । एउटामात्र बाँकी छ । कृषी, महिला, जेष्ठ नागरिक, एकल महिला, दलित, रोजगारमूलक कार्यक्रम, वालवालिका, युवा तथा खेलकुद, स्वास्थ्य, सरसफाई, सिकाई, अपाङ्गता लगायतका सामाजिक कार्यहरुको लागि ३० लाख बजेट विनियोजन गरिएको थियो । जसमा १२ वटा कार्य छनोट गरिएको थियो । त्यसमा आठवटा सम्पन्न भइसकेका छन् भने चारवटा बाँकी रहेका छन् ।’

कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधिको जीवनशैली, सूचना पाटी, एम्बुलेन्स, रोजगारमुलक तालिम, सडक, मेलमिलापकर्तालाई बजेट व्यवस्थापन लगायतका विषयहरुमा प्रश्न तथा सुझावहरु राखेका थिए । सहभागीहरुको जवाफमा वडाध्यक्ष शिवराम राउतले वडामा १७ करोड बराबरको ६८ वटा योजनाहरु आएको तथा संघ र प्रदेशबाट आठ करोड रकमको पूर्वाधार विकासका कार्यहरु भएको जानकारी गराउनुभयो । पछिल्लो समय अमेरिका–इरान युद्धका कारण सामग्री अभावका कारण पूर्वाधार विकासमा केहि समस्या उत्पन्न भइरहेको जानकारी गराउँदै उहाँले उक्त बाहेकका कार्यहरुमा जनताको माग, चाहना र आवश्यकताका आधारमा गरिएको दावी गर्नुभयो ।

यो पनि पढ्नुहोस  भक्तपुर अस्पताल देशभरकै उत्कष्ठ अस्पताल घोषणा

उहाँले भन्नुभयो, ‘जनताप्रति समर्पित भएर नै काम गर्दा सूर्यविनायक नगरपालिकामा १.०२ प्रतिशतमात्र बेरुजु देखिएको छ । उपत्यकाकै कम बेरुजु भएको नगरपालिका बनेको छ । देशकै १९सौं नम्बरमा सुशासनका पक्षमा काम गर्ने नगरपालिका बनेकोछ । तसर्थः आफु सादा जीवन उच्च विचारका साथ जनताको सेवामा समर्पित भएको छु । आफ्नो घरव्यवहार चलाउन पुर्खेउली सम्पत्ति पाँच–सात रोपनी जग्गा रहेको छ । त्यसलाई भाडामा दिएको छु । अनि छोरी क्यानडामा छिन्, उनको कमाइले आफ्नो जीवनयापनमा सहज बनेको छ ।’

जनताको भरोसा टुट्न नदिने उद्घोष गर्दै उहाँले वडा कार्यालयमा जनताको लागि ढोका जहिले पनि खुला रहेको बताउनुभयो । विकासमा जनताको सहयोग अनिवार्य रहेको उल्लेख गर्दै उहाँले रेडक्रसले चासो नदिएका कारण वडामा एम्बुलेन्स चलाउन समस्या भएको गुनासो गर्नुभयो । वडाका योजनाहरुको सूचना पार्टी अनिवार्य रहेको उल्लेख गर्दै उहाँले महिला लक्षित कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभयो । मेलमिलापकर्ताको समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरकार्यपालिका सदस्य शर्मिला लम्साल बस्नेतले शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा वडा सदस्य ताराबहादुर विष्ट, विदुर देउजा, राधिका मिजारलगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित