भक्तपुर, १२ असार : ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक तथा सामाजिक जीवनका विविध आयामलाई समेटिएको अनुसन्धानमूलक कृति ‘ताथली ः भूगोलदेखि लोकसंस्कृतिसम्म’ को आज लोकार्पण गरिएको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथली वडा कार्यालयको प्रकाशन तथा पत्रकार हरिसुन्दर छुँकाको लेखन, अनुसन्धानकर्ता एवं सम्पादनमा प्रकाशित उक्त कृतिको आज ताथलीमा आयोजित कृति विमोचन एवं परिचर्चा कार्यक्रममा बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले कृति विमोचन गर्नु भएको हो ।
स्थानीय इतिहास, भूगोल, लोकसंस्कृति, जात्रा–पर्व, मूर्त तथा अमूर्त सम्पदा, परम्परा, जनजीवन र मौलिक पहिचानलाई समेटेर तयार पारिएको उक्त पुस्तकलाई ताथलीको समग्र परिचय दिने महत्वपूर्ण दस्तावेजका रूपमा तयार पारिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईँले इतिहास र संस्कृतिविनाको समाजको पहिचान कमजोर हुने भएकाले स्थानीय इतिहासको खोज, अध्ययन र अभिलेखीकरणलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहले आफ्नै इतिहास, संस्कृति र सम्पदालाई पुस्तकका रूपमा प्रकाशन गर्नु अत्यन्तै सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गर्दै यस्ता कृतिले नयाँ पुस्तामा आफ्नो गाउँप्रतिको अपनत्व र गौरवबोध विकास गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले कला संस्कृतिका साथै देशको सार्वभौम सत्ता नै देशको प्राण भएको उल्लेख गर्दै कला, संस्कृति र सभ्यतामाथि आक्रमण गर्ने तत्वहरूको पहिचान गरि नयाँ पुस्तालाई सङ्घर्षशील बनाउनुपर्नेमा जोड दिनुभयो ।
विशेष अतिथि साहित्यकार तथा संस्कृतिकर्मी सूर्यप्रसाद लाकोजुले ताथली ऐतिहासिक र सांस्कृतिक दृष्टिले निकै समृद्ध क्षेत्र भए पनि यससम्बन्धी सामग्री छरिएर रहेको अवस्थामा यस पुस्तकले ती विषयलाई एकीकृत रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले मौखिक परम्परामा सीमित हुँदै आएका धेरै विषयलाई पुस्तकले स्थायी अभिलेखका रूपमा सुरक्षित गरेको उल्लेख गर्नुभयो । उहाँले भक्तपुरको इतिहास लेखनमा ताथलीमा भेटिएका अभिलेखहरू अत्यन्तै महत्त्वपूर्ण भएको चर्चा गर्दै त्यसको संरक्षण र प्रवद्र्धनका लागि लेखकले खेलेको भूमिका उदाहरणीय भएको बताउनुभयो ।
अनुसन्धाता तथा लेखक केदारबहादुर थापाले स्थानीय इतिहास लेखन अत्यन्तै कठिन र धैर्यपूर्ण अनुसन्धानको विषय भएको बताउँदै लेखकले पुराना अभिलेख, स्थानीय जनश्रुति, धार्मिक परम्परा, पुरातात्त्विक प्रमाण तथा समुदायका अग्रज व्यक्तिहरूसँगको संवादका आधारमा सामग्री सङ्कलन गरेको चर्चा गर्नुभयो । उहाँले यस्ता पुस्तक भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी तथा इतिहास अध्ययन गर्नेहरूका लागि भरपर्दो सन्दर्भ सामग्री बन्नेछन् ।
आर्किटेक्ट एवं लेखिका तथा शोधार्थी सिर्जना प्रजापतिले ताथलीमा रहेका मठमन्दिर, पाटीपौवा, शिलालेख, मूर्तिकला, परम्परागत बस्ती र सांस्कृतिक सम्पदाको संरक्षणका लागि यस्ता अनुसन्धानमूलक प्रकाशन अपरिहार्य भएको बताइन्। उनले विकास निर्माणका क्रममा सम्पदाको मौलिकता जोगाउन पनि यस्ता दस्तावेजले मार्गदर्शन गर्ने धारणा राख्दै भक्तपुर र ताथलीबीचको सम्बन्धलाई ऐतिहासिक तथ्यका आधारमा पुस्तकले प्रष्ट्याएको बताउनुभयो ।
ताथली साकोसका अध्यक्ष एकबहादुर खत्रीले ताथलीको समग्र इतिहास समेटिएको पुस्तक प्रकाशन हुनु स्थानीय समुदायका लागि गर्वको विषय भएको चर्चा गर्दै इतिहास र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउने प्रभावकारी माध्यम पुस्तक नै भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी ताथलीका राजाराम छुकांले ताथलीको मौलिक पहिचान संरक्षणका लागि स्थानीय समुदाय स्वयं जागरुक हुनुपर्ने बताउँदै पुस्तकले त्यस अभियानलाई थप बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुस्तक हरेक घरमा पुग्नुपर्ने, सबैले पढ्नुपर्ने र आफ्ना छोराछोरीलाई पनि पढ्न दिनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रकाशित पुस्तक वर्तमान पुस्तालाई आफ्नो मौलिकता चिनाउनुका साथै भावी पुस्ताका लागि पनि महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा काम गर्ने विश्वास लिएको भनाई राख्नु भयो ।
पुस्तकका लेखक तथा अनुसन्धानकर्ता हरिसुन्दर छुकांले आफ्नो लेखकीय मन्तव्यमा ताथली ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्तै महत्वपूर्ण बस्ती भए पनि यसका विविध पक्ष समेटिएको समग्र दस्तावेजको अभाव रहेको बताए। यही आवश्यकता महसुस गर्दै भूगोलदेखि लोकसंस्कृतिसम्मका विषयलाई एउटै कृतिमा समेट्ने प्रयास गरिएको उनले बताउनुभयो ।लेखक छुकांले पुस्तक तयार पार्ने क्रममा स्थानीय अग्रजहरूसँगको संवाद, पुराना दस्तावेज, अभिलेख, शिलालेख, धार्मिक स्थल, पुरातात्त्विक अवशेष, जनश्रुति तथा विभिन्न प्रकाशित–अप्रकाशित सामग्रीको अध्ययन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य कमला गिरीले व्यक्त गर्दै स्थानीय सरकारको दायित्व सडक, भवन र पूर्वाधार निर्माणमा मात्र सीमित नरही इतिहास, भाषा, संस्कृति र सम्पदाको संरक्षणमा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले वडा कार्यालयले स्थानीय सम्पदाको अभिलेखीकरण र संरक्षणलाई प्राथमिकतामा राखेर पुस्तक प्रकाशन गरेको जानकारी दिनुभयो ।
वडा सदस्य रविन बासुकलाको सभापतित्वमा सम्पन्न कार्यक्रम सञ्चालन वडा सचिव सपना श्रेष्ठले गर्नु भयएको थियो । कार्यक्रममा जनप्रतिनिधि, अनुसन्धानकर्ता, साहित्यकार, संस्कृतिकर्मी, शिक्षक, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
वक्ताहरूले ताथलीको इतिहास, पुरातात्त्विक सम्पदा, धार्मिक आस्था, जात्रा–पर्व, लोकविश्वास, भाषा, कला, परम्परा र जीवनशैलीलाई संरक्षण गर्न यस्ता अनुसन्धानमूलक प्रकाशनलाई निरन्तरता दिनुपर्नेमा जोड दिदै पुस्तकलाई विद्यालय, पुस्तकालय, अध्ययन केन्द्र तथा प्रत्येक घर–घरमा पुर्याएर अध्ययनको संस्कृति विकास गर्नुपर्ने धारणा पनि राखेका थिए ।
स्थानीय तहको पहलमा प्रकाशित ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक ताथलीको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई अभिलेखीकरण गर्ने महत्वपूर्ण कृतिका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ । स्थानीय समुदायको स्मृति, सभ्यता र सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्दै भविष्यका अनुसन्धानका लागि आधार तयार पार्ने दृष्टिले पनि यो पुस्तकलाई कोशेढुङ्गाका रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

