भक्तपुर, २६ साउन । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित ठूली ब्रह्मायणी मन्दिर परिसरमा कलात्मक मृतिका तेराकोटा शैलीमा निर्माण गरिएको नमुना सत्तल–फल्चा हस्तान्तरण गरिने भएको छ ।
मंगलबार रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा सत्तल–फल्चाका निर्माणकर्ता भक्तपुर नगरपालिका–९, तौलाछें निवासी विष्णु प्रसाद किसि प्रजापति र मोहोन प्रसाद किसि प्रजापतिले आफ्ना दिवंगत बुवा तथा आमाको स्मृतिमा परिवारकाउक्त फल्चा निर्माण गरेको बताउनुभयो ।
धार्मिक तथा सांस्कृतिक महत्व सहितको नवदुर्गागणको उत्पत्तिस्थलका रूपमा परिचित ठूली ब्रह्मायणी मन्दिर परिसरमा मौलिक कला, वास्तुकला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तेराकोटा शैलीमा सत्तल–फल्चा निर्माण गरिएको पत्रकार सम्मेलनमा बताईएको छ ।
आफ्ना अभिभावकको स्मृतिलाई स्थायी बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समेत योगदान पु¥याउने उद्देश्यले आफ्नो एकल निजी लगानीमा निर्माण कार्य सम्पन्न गरिएको प्रजापतिले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा प्रजापतिले निर्माण सम्पन्न भएको सत्तल–फल्चा यही साउन २८ गते हुने फल्चा उद्घाटन तथा हस्तान्तरण गरिने बताउदै त्यस दिन क्षमा पूजा, समयबजी ब्वोछ्यागु सम्मान तथा प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा ब्रम्हायाणी बिकास समितिका अध्यक्ष सहदेव शाखकर्मीले करिब एक करोडको लागतमा आफ्ना पुर्खाको स्मृतिमा मन्दिरमा विष्णु प्रसाद प्रजापतिले अतुलनिय ठूलो पूण्यको काम गरेको बताउनुभयो । सत्तल निर्माणसंगै ठूली ब्रम्हायाणी क्षेत्रको धार्मिक सौन्दर्यतामा थप टेवा पुग्ने बताउदै उहाँले धार्मिक पर्यटनको विकास गर्न टेवा पुग्ने बताउनुभयो ।
हस्तान्तरण एवं उद्घाटन कार्यक्रम साउन २८ गते बिहीबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ठूली ब्रह्मायणी मन्दिर परिसरको सत्तल प्राङ्गणमा हुने बताउदै धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र मौलिक कला–संस्कृतिको प्रवद्र्धनमा चासो राख्ने सबैलाई कार्यक्रममा सहभागिताको लागि सार्वजनिक आव्हन गरिएको छ ।

