भक्तपुर, । सूर्यविनायक नगरपालिकाले आफ्ना नगर क्षेत्रमा रहेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रम अन्तर्गत एक एक थान कम्प्युटर एवं फोटोकपी मेशिन हस्तान्तरण गरेको छ ।
नगरपालिकामा बुधबार सूर्यविनायक नगरपालिका आर्थिक विकास समितिले आयोजना गरेको महिला सहकारी संस्थाहरुलाई प्रबिधि हस्तान्तरण कार्यक्रममा यहाँ सञ्चालनमा रहेको १० वटा सहकारी संस्थाहरुलाई कम्प्युटर प्रदान गरिएको हो ।

कार्यक्रममा सूनपा–२ मा सञ्चालित मनकामना महिला बहुउदेश्यीय सहकारी संस्था लि., वडा नं. ४ का दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि., वडा न. १ को जन चेतना महिला वचत तथा ऋण सहकारी संस्था लि., वडा नं. २ को महिला अभियान वचन तथा ऋण सहकारी संस्था लि., वडा नं. ९ को श्री शान्ति भैरब महिला विकास बहुउदेश्यीय सहकारी संस्था, लिमिटेड, वडा नं. ७ को स्वावलम्ब महिला बचत तथा ऋण सहकारी संस्था, सूनपा वडा नं. ७ कै अनन्त महिला वचत तथ ऋण सहकारी संस्था लि., वडा नं. ८ का आशापुरी महिला बहुउदेश्यीय सहकारी संस्था लि. वडा नं. १० को मुक्ति महिला वचत तथा ऋण सहकारी संस्था ल., वडा नं. १ को वनदेवी माई महिला विकास वचत सहकारी संस्था लि. र वडा नं. ५ को वासुकी महिला विकास सहकारी संस्था लि.लाई प्रबिधि हस्तान्तरण अन्तर्गत एक एक थान कम्प्युटर हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको आर्थिक विकास समितिका संयोजक पुष्पराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक एवं नगरपालिकका प्रवक्ता रविन्द्र सापकोटा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, सभापति बस्नेतले संयुक्त रुपमा प्रबिधि हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा प्रवक्ता रविन्द्र सापकोटाले आजको युग प्रविधिको युग भएकाले सहकारी संस्थाहरूको दैनिक प्रशासनिक काम, लेखा व्यवस्थापन, सदस्यहरूको अभिलेख, सूचना प्रवाह तथा सेवा प्रवाहलाई प्रभावकारी र व्यवस्थित बनाउन कम्प्युटर तथा फोटोकपी मेसिनजस्ता उपकरणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यसबाट सहकारीको कार्यक्षमता बढ्नुका साथै सदस्यहरूले छिटो, सरल र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास लिएको बताउनुभयो ।
सापकोटाले भन्नुभयो, “विशेषगरी महिला सहकारीलाई प्रविधिमैत्री बनाउने यो कार्यक्रम महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदम हो । महिलाहरूको नेतृत्वमा सञ्चालित सहकारीहरूलाई प्रविधि, सीप र स्रोतसाधनसँग जोड्न सकेमा स्थानीय आर्थिक विकासमा अझ ठूलो योगदान पुग्न भन्ने हाम्रो विश्वास हो ।”
कर्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले ७०÷३० को लागत साझेदारीको अवधारणाले सहयोगसँगै जिम्मेवारी र स्वामित्वको भावना पनि विकास गर्ने बताउनुभयो । नगरपालिकाले उपलब्ध गराएको प्रविधिको सही सदुपयोग गर्दै सहकारीहरूले आफ्नो सेवा विस्तार, पारदर्शिता र संस्थागत सुशासनलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमका सभापति एवं आर्थिक समितिका संयोजक पुष्पराज बस्नेतले सूर्यविनायक नगरपालिकाको महत्वपूर्ण कामको सहकारीले उच्चतम उपयोग गर्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँले हस्तान्तरण गरिएका उपकरणहरूको अधिकतम सदुपयोग गर्दै महिला सहकारीहरू अझ सक्षम, प्रविधिमैत्री र आत्मनिर्भर बन्न सफल हुनेमा सिंगो नगरपालिकाले विश्वास लिएको बताउनुभयो । कार्यक्रम सहकारी शाखा प्रमुख सल बहादुर पाण्डेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

