हेटौडा, ३ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा आजबाट सुरु भएको नगरस्तरिय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उद्घाटन गर्नु भएको छ ।

उहाँले खेलको उद्घाटन गर्दै बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि सदैव प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले खेलकुद प्रवद्र्धनको यस्ता सकारात्मक प्रयास सबै तिर सञ्चालन हुने सके युवाहरु खेलकुदप्रति आकर्षित हुने र देशले नयाँ नयाँ खेलाडीहरु पाउने बताउनुभयो ।

तल्लो तहदेखि नै खेलाडीहरूको पहिचान र विकास गर्न यस्ता स्थानीय स्तरका प्रतियोगिताहरू कोशेढुङ्गा सावित हुने बताउदै उहाँले खेलाडी राष्ट्रका गौरव र गहना भएको चर्चा गर्नुभयो ।

उदीयमान खेलाडीहरूलाई खेल भावनाका साथ उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै उहाँले खेलकुदले अनुशासन र स्वस्थ शरीरका लागि महत्वपूर्ण हुने बताउदै खेलकुदलाई विद्यालय र स्थानीय तहले चासो दिएर अगाडि बढाउनु पर्ने बताउनुभयो ।

