नुवाकोट ८ असोज । भोटेकोशी बाढी प्रभावित नुवाकोट र आसपासका क्षेत्रका स्थानीयवासीको आपतकालिन उपचारका लागि बागमती प्रदेश सरकारले नुवाकोटको विदुर नगरपालिकामा आजबाट आपतकालीन तथा आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले पुल बगाउँदा त्रिशुली अस्पताल जाने मार्ग टुटेपछि सामान्य उपचारका लागि पनि काठमाडौं जानु पर्ने बाध्यतालाई अन्त्य गर्न प्रदेश सरकारले आजबाट केन्द्र सञ्चालनमा ल्याएको हो । आज वागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उक्त केन्द्रको शुभारम्भ गर्नुभयो ।

मुख्यन्त्री किरण थापाले बाढी प्रभावित नागरिकलाई स्वास्थ्यमा संकट आउँदा तत्काल आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोटमा चार शैयाको केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।
विपद्को कठिन घडीमा नागरिकको जीवनरक्षा, स्वास्थ्य सुरक्षा तथा राहत–उद्धारलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो, “बाढी प्रभावित नुवाकोटका नागरिकहरुलाई स्वास्थ्यमा संकट आउँदा र सामान्य उपचारका लागि पनि काठमाण्डौंसम्म उपचार गर्न जानुपर्ने बाध्यता आएको थियो, अब त्यो बाध्यता हटेका छ ।”

विपद् प्रभावित नागरिकलाई मलम लगाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउद उहाँले प्रभावित क्षेत्रमा स्वास्थ्य संकटको तत्काल व्यवस्थापनसँगै पुनःस्थापना र नागरिकको दैनिकी सहज बनाउन आवश्यक समन्वय, सहकार्य तथा प्रभावकारी सेवा प्रवाहलाई निरन्तरता दिइने बताउनुभयो । रसुवा भोटेकोशी बाढिका कारण नुवाकोटको त्रिशुली नदीको पुल बगाएपछि बेलकोटगढी, विदुर नगरपालिका लगायतका स्थानीय तहको त्रिशुली अस्पतालसँग सम्पर्क टुटेको थियो ।

प्रभावित वासिन्दाको साथमा प्रदेश सरकार दृढतापूर्वक उभिएको बताउँदै उहाँले भन्नुभयो, “परिस्थिति जस्तोसुकै भए पनि त्यसलाई व्यवस्थापन गर्दै स्वास्थ्य सेवा सुरु गरेका छौँ । अब नुवाकोटवासीले आधारभूत स्वास्थ्योपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । हामी अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य उपकरण, औषधि र जनशक्तिको अभाव हुन दिदैनौ, अन्य प्रादेशिक अस्पतालबाट जनशक्ति खटाउने र आवश्यक परे तत्काल करारमा विज्ञापन गरेर भए पनि सेवा चुस्त बनाउन बजेट व्यवस्थापन गर्नेछौं ।”

मुख्यमन्त्री थापाले नुवाकोट र रसुवालाई जोड्न तथा आवतजावत सहज बनाउन तत्काल ५ वटा झोलुङ्गे पुल र २ वटा बेलिब्रिज जडान गरिने बताउदै छिटो झोलुङ्गे पुल निर्माण गर्न छोटो अवधिको टेन्डर निकाल्न भौतिक पूर्वाधार मन्त्रालयलाई निर्देशन दिइसकिएको बताउनुभयो ।
बागमती प्रदेशसँग हाल उपलब्ध रहेका ५०–५० मिटरका दुईवटा बेलीब्रिज एक साताभित्र तयार हुने र स्थानीय तह तथा जनप्रतिनिधिहरूसँग समन्वय गरी प्राथमिकताका आधारमा दुई स्थानमा जडान थप पुल जडान गरिने उहाँको भनाई थियो । नेपाली सेनासँग समन्वय गरी पुरानो अर्को बेलिब्रिज पनि सञ्चालनमा ल्याउने तयारी गरिएको बताउदै उहाँले पक्की पुल निर्माणका लागिसमेत अध्ययन सुरु गरेको बताउनभयो ।
प्रदेश सरकार उद्धार, उपचार र राहत वितरणपछि संघीय र स्थानीय सरकारसँग समन्वय गरेर पुनर्निर्माणतर्फ केन्द्रित भएको भन्दै मुख्यमन्त्री थापाले पुल नभएका ठाउँमा तत्काल वैकल्पिक सडक खोल्ने काम अघि बढाइएको बताउनुभयो । जसका कारण त्यस क्षेत्रका नागरिक उपचारमा समस्या आएको थियो ।

विपद् प्रभावित नागरिकको उपचारमा सहयोग पु¥याउन प्रदेशको स्वास्थ्य तथा समाजिक विकास मन्त्रालय र डब्लुएचओको सहयोगमा आकस्मिक सहित, बहिरंग तथा प्रसूति सेवा दिनेगरी चार शैयाको केन्द्र सञ्चालन गरिएको मन्त्रालयकी स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले बताउनुभयो । त्रिशूली नदीमा पुल नहुँदा स्थानीयवासीलाई प्रादेशिक अस्पतालसम्म पुग्न कठिनाइ भइरहेको अवस्थामा डब्ल्युएचओको सहयोगमा अस्पताल तथा भिडियो परामर्श सेवा सुरु गरिएको छ ।

कार्यक्रममा बागमती प्रदेशका पुर्व मुख्यमन्त्री बहादुरसिंह लामा , आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेल, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङलगायतको सहभागिता रहेको थियो । प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना तथा स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

