चितवन, १३ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्को यस कठिन घडीमा बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह आग्रह गर्नु भएको छ ।
चितवनमा नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको आज बिहानै अवलोकन गर्दै बाढीपीडित परिवारलाई धैर्य गर्न आग्रह गर्दै प्रदेश सरकार पीडितको साथमा रहेको बताउनु भएको हो ।

मुख्यमन्त्री थापा मगरले तत्काल उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । उहाँले बाढीबाट क्षतिग्रस्त पूर्वाधार तथा खेतीयोग्य जमिनको क्षतिको विवरण संकलन भइरहेको जानकारी दिँदै राहतपछि पुनर्निर्माणको कामलाई समेत प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो ।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “प्रदेश सरकार बाढीपीडित जनताको साथमा छ, हामी उद्धार, राहत वितरण र पुर्नस्थापनामा लाग्छौ । नारायणी नदीबाट हुने दीर्घकालीन क्षतिको समाधानका लागि पनि संघीय सरकारसँग आवश्यक समन्वय गरी काम अघि बढाउने छौं, त्यसका लागि आवश्यक योजना तथा संरचनागत पहल गर्नेछौं ।”

विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन छुट्टै प्राधिकरण गठन गरेर काम गर्ने तयारीसमेत गरिरहेको बताउदै मुख्यमन्त्री थापा मगरले बाढी प्रभावित नागरिकको उद्धारदेखि सुरक्षित स्थानान्तरण, राहत वितरण र त्यसपछि पुनर्निर्माणसम्मका कार्यमा प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने बताउनुभयो ।


