हेटौडा, १५ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले कुनै पनि अपराध अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने बताउनु भएको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय मातहत रहेको विधि विज्ञान परीक्षण प्रयोगशालाको बिहिबार निरीक्षण तथा अनुगमनका क्रममा उहाँले अपराध अनुसन्धानलाई थप वैज्ञानिक, प्रमाणमुखी र विश्वसनीय बनाउनुपर्ने बताउनुभएको हो।

मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “अबको अपराध अनुसन्धान अनुमान र आशंकाका आधारमा नभई प्रमाण, विज्ञान र प्रविधिमा आधारित हुनुपर्छ । अपराध अनुसन्धानलाई आधुनिक प्रविधिसँग जोड्दै प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता छ । त्यसैले प्रयोगशालामा अत्याधुनिक उपकरण, नवीनतम प्रविधि र दक्ष जनशक्तिको विकासलाई प्राथमिकतामा राख्नुस् ।”

अपराध अनुसन्धानमा वैज्ञानिक प्रमाणको भूमिका महत्वपूर्ण हुने बताउदै उहाँले प्रविधिको विकाससँगै अपराधका स्वरूप पनि परिवर्तन भइरहेकाले अनुसन्धान प्रणालीलाई समेत सोहीअनुसार आधुनिक र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। विधि विज्ञान परीक्षण प्रयोगशालालाई थप सुदृढ र प्रभावकारी बनाउन आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न बागमती प्रदेश सरकार पूर्णरूपमा तयार रहेको मुख्यमन्त्री थापा मगरले स्पष्ट पार्नुभयो।

उहाँले प्रहरी अनुसन्धानलाई तथ्य र प्रमाणमा आधारित बनाउँदै न्यायिक प्रक्रियालाई समेत थप विश्वसनीय बनाउन प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। अपराध अनुसन्धानमा वैज्ञानिक विधिको प्रयोग बढाउन तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्न सम्बन्धित निकायलाई उहाँले निर्देशन दिनुभयो।

निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले प्रयोगशालाबाट हुँदै आएका काम, उपलब्ध पूर्वाधार, उपकरण तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो। सो अवसरमा सम्बन्धित अधिकारीहरूले प्रयोगशालाको वर्तमान अवस्था, सेवा प्रवाह तथा आवश्यकताबारे जानकारी गराउनुभएको थियो। मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारका तर्फबाट प्रयोगशालाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग र सहजीकरण गरिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।


