भक्तपुर, २० असोज । जनस्वास्थ्य कार्यालय, भक्तपुरले आ.व. २०८२/०८३ मा सम्पन्न विभिन्न स्वास्थ्य कार्यक्रमहरूको मूल्याङ्कन तथा आगामी वर्षका योजना निर्धारणका उद्देश्यले आयोजित दुईदिने जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
यही असोज १९ र २० गते सूर्यविनायक नगरपालिकाको हलमा आयोजना भएको गोष्ठीको १९ गते जिल्ला समन्वय समिति भक्तपुरका कार्यबाहक प्रमुख सुजाता बाडेले उद्घाटन गर्नु भएको थियो । उहाँले दुईदिने गोष्ठीमा सहभागि जिल्लाका स्वास्थ्य संस्थाहरुले गरेका प्रगति, चुनौती र सुधार गर्नु पर्ने विभिन्न विषयलाई प्रसस्तुत मात्रै नगरी घनिभूत छलफल गरि निचोडमा पुग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले दुई गोष्ठीले प्रगति समिक्षाका साथै स्वासथ्य सेवा प्रवाहमा आएका चुनौती र समस्याको पहिचान गरी जनताको सेवामा कसरी सहजता ल्याउँन सकिन्छ भन्नेबारेमा समेत छलफल गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाह, जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्काले दुई दिने गोष्ठीमा जिल्लाका स्वास्थ्य सेवा र कार्यको मूल्यांकन, सम्पादन गर्नुका साथै आएका समस्या समाधानको बाटो समेत पहिल्याउने बताउनुभयो ।
पहिलो दिन उद्घाटन सत्र पछि सुरु भएको प्रस्तुतीकरणमा जिल्लाका बिभिन्न स्वास्थ्य संस्थाहरुले एक वर्षभरि गरेका कार्य प्रगतिको समिक्षा तथा कार्य सम्पादनकाबारेमा छलफल गरिएको थियो ।

दोश्रो दिन असोज २० गते अघिल्लो दिन बाँकी भएका स्वास्थ्य संस्थाहरुले गत आर्थिक वर्षको साउनदेखि असारसम्म भएका कामको प्रगति विवरण प्रस्तुत गर्नुका साथै समिक्षा गरिएको थियो ।
कार्यक्रममा जिल्लाका चार पालिकाहरु भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकाका बिभिन्न स्वास्थ्य संस्थाहरुले सेवा प्रवाहका क्रममा भएको प्रगति, उपलब्धि, चुनौती र आगामी योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरेका थियो । सहभागीहरूबाट स्वास्थ्य सेवा सुदृढीकरण, औषधि आपूर्ति प्रणाली, सेवा प्रवाह, स्थानीय तहबीच सहकार्य तथा समन्वयका विषयमा छलफल भएको थियो ।
दोस्रो दिनमा अस्पताल सेवा सुधार, पोषण तथा सरसफाइ कार्यक्रम, स्वास्थ्य बीमा विस्तार र आगामी वर्षका प्राथमिकताका कार्यक्रमहरू विषयमा समूहगत छलफल तथा कार्ययोजना निर्माण गर्नुका साथै प्र्रत्येक समूहले आफ्ना निष्कर्ष र सिफारिसहरू प्रस्तुत गरेका थिए ।

समापन कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख बाडेले दुई गोष्ठीले भक्तपुरको समग्र स्वास्थ्य संस्थाले जनताको सेवालाई प्रभावकारी रुपमा अगाडि बढाउन निष्कर्षमा पुगेको बताउनुभयो । उहाँले आएका समस्यालाई समाधान गर्दै अगाडि जानु पर्ने औल्याउनु भयो ।
कार्यक्रममावागमती प्रदेश जनस्वास्थ्य अधिकृत सतिश विष्ट, प्रदेशका स्वास्थ्य निर्देशनालय तथा योजना अधिकृत बिएस शाहले प्रदेश सरकारको नीति अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउदै कुनै समस्या भए समाधानमा लाग्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ भक्तपुरका सभापति सुन्दर शिल्पकारले स्वास्थ्य सेवाको सहज पहुँचमा आमनागरिक पुग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालयकी प्रमुख अञ्जना खड्काले विगत वर्षका उपलब्धिहरूलाई निरन्तरता दिन र चुनौतीहरू समाधान गर्न सबै तहका स्वास्थ्यकर्मी, स्थानीय सरकार तथा साझेदार संस्थाबीच सहकार्य आवश्यक रहेको बताउनु भयो ।
उहाँले सोही आधारमा जनस्वास्थ्य कार्यालयले आगामी वर्षका योजनाहरूमा सुधार र प्राथमिकता निर्धारण गर्ने बताएको छ । कार्यक्रममा चार वटै नगरपालिकालाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो भने सहभागि लगायत अतिथिहरुलाई मायाको चिनो प्रदान गरि विदाई गरिएको थियो ।
चाँगुनारायण नगरपालिका स्वास्थ्य शाखालाई सरकारी स्वास्थ्य संस्थाहरुमा नियमित न्यूनतम सेवा मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गरेवापत, मध्यपुरथिमि नगरपालिकालाई ज्येष्ठ नागरिक स्वास्थय कार्याक्रम सञ्चालन गरे वापत, सूर्यीवनायक नगरपाकिालाई मार्त स्वासथ्य कार्यक्रम सुदेढिकरणका लागि घुम्ती ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम सञ्चालन गरेवापत र भक्तपुर नगरपाकिालाई रोगको समयमै पहिचान, रोकथाम र उपचारमा सहयोग गर्न घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेवापत कार्यालयले सम्मान गरेको हो ।


