भक्तपुर, ९ मङ्सिर : जर्मन सरकारको करिब आठ करोडको सहयोगमा चाँगुनारायण नगरपालिका–३ झौखेलस्थित झौखेल स्वास्थ्य चौकीको नवनिर्मित भवन आज नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
भवनमा आज आयोजना गरिएको भवन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उपसचिव विशाल सुवेदीले उक्त भवनको साँचो नगरपालिकाका प्रमुख जीवन खत्रीलाई हस्तान्तरण गर्नु भएको हो ।
कूल तीन रोपनी २ आना क्षेत्रफलमा निर्माण भएको साडे दुईतले १२ कोठे सुविधा सम्पन्न भवनमा दुई वर्ष ६ महिनामा निर्माण सम्पन्न भई आज हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नगर प्रमुख खत्रीले नवनिर्मित भवनमा सञ्चालन हुने स्वास्थ्य सेवाले झौखेल र आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य परीक्षण एवं उपचारमा ठूलो सहयोग पुग्ने बताउनु भयो ।
उहाँले यस भवनबाट नगर अस्पताल पुग्ने सडक निर्माण सुरु भएको भन्दै नगरपालिकाले त्यस सडकका लागि बजेट विनियोजन गरेको बताउनुभयो ।कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं। ३ झौखेलका वडा अध्यक्ष श्यामसुन्दर धिमालले विगतमा दुई कोठे गोठ जस्तो भवनमा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको झौखेल स्वास्थ्य चौकीले सुविधा सम्पन्न भवन पाएको बताउनु भयो ।
नयाँ भवन सुरुवातको सन्दर्भ स्मरण गर्दै अध्यक्ष धिमालले भन्नुभयो, “२०७६ सालमा जर्मनको एउटा टोलीसंग मेरो भेट भयो, यहाँको भूकम्पले जीर्ण भएको गोठ जस्तो स्वास्थ्य चौकी मैले देखाए, उहाँले जग्गा उपलब्ध गराए जर्मन सरकारले भवन बनाइदिने बाचा गर्नु भयो, त्यसपछि मैले छरिएर रहेको जग्गालाई एकत्रित गरि जग्गा उपलब्ध गराए र त्यही जग्गामा आज यो भवन देख्न पाउँदा ज्यादै खुसी लागेको छ ।”
उहाँले २०७८ सालमा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउनेदेखि सबै कागजी प्रक्रिया पुरा गरेको र जर्मनब सरकारले नेपाल सरकारसंग सम्झौता २०८० सालमा सम्झौता गरि टेण्डर आव्हान गरेको बताउनुभयो ।
भवन निर्माण सुरु भएको दुई वर्षमा सम्पन्न भएपनि मन्त्रालयबाट हस्तान्तरणको प्रक्रिया ६ महिना ढिला भएको भन्दै उहाँले जर्मन सरकारले नै स्वास्थ्य चौकीका लागि आवश्यक पर्ने ल्याबको सामान, फर्निचर, एक्सरे मेशिन लगायतको व्यबस्थ ागर्ने गरि बजेट व्यबस्था गरेको बताउनुभयो ।स्वास्थ्य मन्त्रालयले यी सामानका लागि एक पटक टेण्डर आव्हान गर्दा नपरेपछि पुनः टेण्डर आव्हान गर्नु पर्नेमा ढिलाई भएको भन्दै छिटो पुन टेण्डर प्रक्रिया अगाडि बढाएर सामान हस्तन्तरण गरे जनताले छिटो गुणस्तरीय सेवा पाउँन सक्ने वडा अध्यक्ष धिमालले बताउनुभयो ।
उहाँले यस भवनमा स्वास्थ्य चौकीलाई चिकित्सक सहितको बहिरंग सेवा सञ्चालन गरि जनरल सेवा प्रदान गर्ने र जटिल रोगका लागि अन्य अस्पतालमा रिफर गर्ने गरि रिफरल सेन्टरको रुपमा विकास गर्ने लक्ष्यका साथ चिकित्सक राख्न हालका लागि २० लाख रुपैयाको बजेट व्यबस्थापन गरेको बताउनुभयो । नगरपालिकाले सहयोग गरे यस स्वास्थ्य चौकीलाई प्रसुति सेवा सञ्चालन गर्ने गरि भौतिक पूर्वाधार तयार भएकोले सहयोगका लागि आव्हान गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

