हेटौँडा, ९ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योगको विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
उहाँले युवालाई रोजगारी खोज्न विदेश तथा अन्यत्र जान बाध्य बनाउने अवस्थाको अन्त्य गर्दै आफ्नै ठाउँमा रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माण गर्न सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
उद्योग दिवसका अवसरमा आज हेटौँडामा आयोजित नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री थापा मगरले आर्थिक समृद्धि भाषण र योजनामा मात्र सीमित नभई उत्पादन तथा नागरिकको जीवनस्तरमा देखिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अब आर्थिक समृद्धिको कुरा भाषणमा मात्र होइन, उत्पादनमा पनि देखाउनुपर्छ । विकासको कुरा योजनामा मात्र होइन, नागरिकको जीवनमा पनि अनुभूति गराउनुपर्छ । रोजगारीको कुरा आश्वासनमा मात्र होइन, उद्योग र उद्यमको माध्यमबाट सिर्जना गर्नुपर्छ ।”
उहाँले बलियो उद्योग, सक्षम उद्यमी, दक्ष जनशक्ति र उत्पादनमुखी अर्थतन्त्र नै समृद्ध प्रदेश निर्माणका मुख्य आधार भएको उल्लेख गर्नुभयो । उद्योग स्थापना तथा सञ्चालनका क्रममा देखिने प्रशासनिक झन्झट हटाउँदै लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
“सरकारको काम उद्योग सञ्चालन गर्नु मात्र होइन, उद्योग सञ्चालन गर्न चाहने नागरिकका लागि सहज वातावरण निर्माण गर्नु पनि हो,” उहाँले भन्नुभयो, “लगानीकर्तालाई सम्मान गर्नुपर्छ । उद्योग स्थापना र सञ्चालनका क्रममा देखिने अनावश्यक प्रशासनिक झन्झट हटाउनुपर्छ । नीतिगत स्थिरता, प्रक्रियागत सरलता, पूर्वाधारको उपलब्धता र लगानीको सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।”
मुख्यमन्त्री थापा मगरले निजी क्षेत्रलाई राज्यको विकास साझेदारका रूपमा चित्रण गर्दै सरकार र उद्योगी व्यवसायीबीच विश्वास, सहकार्य र साझेदारी आवश्यक रहेको बताउनुभयो । निजी क्षेत्रको लगानी, उद्यमीको आत्मविश्वास र श्रमिकको मेहनतलाई एकीकृत गर्न सके मात्र आर्थिक विकासले गति लिने उहाँको भनाइ थियो ।
यस वर्षको उद्योग दिवसको नारा ‘औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार’ रहेको उल्लेख गर्दै उहाँले यसलाई आर्थिक विकासको मार्गदर्शनका रूपमा लिनुपर्ने बताउनुभयो । बागमती प्रदेशमा औद्योगिक विकासका प्रशस्त सम्भावना रहेको भन्दै उहाँले भौगोलिक विविधता, प्राकृतिक स्रोत, कृषि, पर्यटन, सीप र श्रमशक्तिलाई उत्पादनसँग जोड्नुपर्ने धारणा राख्नुभयो ।
घरेलु तथा साना उद्योग, कृषि तथा वनजन्य उद्योग, पर्यटनमा आधारित उद्यम, हस्तकला, सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नयाँ सम्भावना खोज्नुपर्ने उहाँको भनाइ थियो । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै स्वदेशी वस्तुको गुणस्तर वृद्धि र उत्पादनलाई बजारसँग जोड्न सके आयातमा निर्भर अर्थतन्त्रलाई उत्पादन तथा निर्यातमा आधारित बनाउन सकिने उहाँले बताउनुभयो ।
“हामीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । स्वदेशी वस्तुको गुणस्तर बढाउनुपर्छ । उत्पादनलाई बजारसँग जोड्नुपर्छ । स्थानीय स्रोत र सीपलाई आर्थिक अवसरमा रूपान्तरण गर्नुपर्छ,” मुख्यमन्त्री थापा मगरले भन्नुभयो ।
उहाँले उद्योगी तथा व्यवसायीलाई नाफा आर्जनमा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्व, रोजगारी सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा समेत योगदान गर्न आग्रह गर्नुभयो । उद्योगको विकाससँगै श्रमिकको सम्मान, सुरक्षित कार्यस्थल, उचित श्रम सम्बन्ध र सीप विकासलाई पनि समान महत्व दिनुपर्ने उहाँको धारणा थियो ।
त्यसैगरी, औद्योगिक विकास वातावरणमैत्री र प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै उहाँले प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग गर्नुपर्ने बताउनुभयो । “आर्थिक विकासका नाममा प्रकृति र वातावरणलाई क्षति पुर्याउने होइन, प्राकृतिक स्रोतको विवेकपूर्ण उपयोग गर्दै भावी पुस्ताका लागि समेत अवसर सुरक्षित गर्ने विकास मोडेल अपनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा मुख्यमन्त्री थापा मगरले नवप्रवर्तन उद्यमी सम्मानबाट सम्मानित हुने उद्यमीहरूलाई बधाई दिँदै उनीहरूको सफलता अन्य युवाका लागि प्रेरणाको स्रोत बन्नुपर्ने बताउनुभयो । सीमित स्रोत र साधनका बीच नयाँ सोच, प्रविधि र सम्भावनाको खोजी गर्दै उद्यम सञ्चालन गर्नु प्रदेशको अर्थतन्त्रका लागि महत्वपूर्ण योगदान भएको उहाँको भनाइ थियो । “एउटा सफल उद्यमले धेरैलाई रोजगारी दिन सक्छ, एउटा नयाँ सोचले एउटा उद्योग जन्माउन सक्छ र एउटा उद्योगले एउटा समुदायको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सक्छ,” उहाँले भन्नुभयो ।
उहाँले उद्यमशीलता प्रवर्द्धन, औद्योगिक वातावरण सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई प्रभावकारी बनाउँदै उत्पादन तथा रोजगारी वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।

