भक्तपुर, : आज अग्रेजी नयाँ वर्ष–२०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायीहरु उत्साहित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका यहाँका पर्यटन व्यबसायीहरु आन्तरिक पर्यटककै चाँप थेगिनसक्नु भएर बबढेपछि भने व्यवसायीहरु उत्साहित भएका हुन् ।
अंग्रेजी नयाँवर्ष–२०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । अग्रेजी नयाँ वर्ष मनाउन भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटकले भरिएका छन् ।
भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा अंग्रेजी नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटलहरु भरिएका छन् । बेलुका बास बसेर आज बहान सूर्योदयसंगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो ।
हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारी र नगरकोट जाने सडकको जिर्ण अबस्थाका कारण पर्यटन व्यबसाय ओरालो लागेपनि नयाँ वर्षमा भने उमंग थपेको पर्यटन तथा होटल व्यबसायी अशोक थापा बताउनु हुन्छ ।
नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक समेत रहनु भएका थापाले भन्नुभयो, “विदेशी पर्यटकको चाप घटेको छ, स्वदेशी पर्यटकको चाँप निकै बढेको छ, अग्रेजी नयाँ वर्षमा पनि ३० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ७० प्रतिशत स्वदेशी पर्यटकले यहाँको होटल भरिएका छन् ।” यहाँका नाम चलेका केही होटलमा मात्रै विदेशी पर्यटक जाने गरेको र अन्य होटल स्वदेशी पर्यटककै भरमा रहनु परेको व्यवसायीहरु बताउँछन् ।
सामान्यदेखि ४ स्टारसम्मका हानेटलहरु रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटककै चाँप बढेपछि कोठा पाउन पनि मुश्किल परेको व्यवसायी थापा बताउनु हुन्छ । चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन निकै बढ्दा व्यबसायीहरु उत्साहित भएको बताउनु हुन्छ ।
कोभिड–१९ को सङ्क्रमणले रित्तिएका यहाँका होटलहरु नयाँ वर्ष २०७८ देखि चहलपहल भएपनि अंग्रेजी नयाँवर्ष २०२३ को आगमनसम्म आइपुग्दा विदेशी भन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटलहरु भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउनुहुन्छ ।
“मैले होटल क्षेत्रमा काम गरेको २२ वर्ष बढी भयो तर कोरोनाले होटल सुनसान भएको पहिलो पटक थियो, अब त उठ्न सकिदैन कि भन्ने लागको थियो तर नेपाली र अंग्रेजी नयाँवर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकहरुको आगमन बढेपछि अब उत्साह थपिएको छ ।” उहाँ भन्नुहुन्छ “ यसपालीको अंग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले पर्यटन क्षेत्रमा धेरै आशा पलाएको छ ।”
भूकम्पले भत्किएपछि पुर्ननिर्माण गरेर नयाँ स्वरुपमा होटल सञ्चालनमा ल्याएका होटल चौतारी नगरकोटका सञ्चालक बद्री माकले भूकम्प र कोरोनाले संकटमा पारेको होटल व्यवसायलाई अहिले आन्तरिक पर्यटकले धानेको बताउनु हुन्छ । उहाँले होटल व्यवसायमा आन्तरिक पर्यटकको आगमनले विदेशी पर्यटकलाई भुलाइदिएको बताउनु हुन्छ ।
आज नगरकोटबाट फर्कदै गर्नु भएका काठमाडौं, बानेश्वर निवासी पदमलाल श्रेष्ठले एक साता अगाडिदेखिनै होटलको रुम बुक गरेको बताउनु भयो । आफ्नो परिवार र आफन्त गरि ११ जना शनिवार साँझ आएर बसेको र नयाँ वर्षमा रमाएको बताउदै उहाँले आन्तरिक पर्यटकको चाँप बढेको देख्दा अचम्म भएको सुनाउनु भयो । पारिवारिक जमघट नगरकोटमा बढेको भन्दै उहाँले कतिपय हिजो साँझ कोठा नपाएर फर्केको देख्या नेपालका आन्तरिक पर्यटककै कारण पर्यटन व्यवसायमा सम्भावना बढेको पाइएको उहाँ बताउनु हुन्छ ।
चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी संघका पूर्व सचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताउनु भयो । उहाँले भन्नुभयो, “एकसता अगाडिदेृखि होटलहरु बुक भए, हिजो यहाँका होटलहरु खचाखच थिए, कतिपयले कोठा नपाउने अबस्था आयो, नेपालीहरुमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।”
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरि नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताउनु भयो । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेको बताउदै नगरकोटदेखि चाँगुनारायण मन्दिरसम्म पर्यटकको आगमनलाई विश्वमाझ प्रचार गर्न भ्रमण वर्ष मनाउने भएको बताउनु भयो ।
यता अर्को नयाँ पर्यटकीय गन्तव्य सूर्यविनायक नगरपालिका ७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोट र घ्याम्पेडाँडाका सबै होटलहरु आन्तरिक पर्यटकले नै भरिएका छन् । यहाँबाट बिहान देखिने सुन्दर हिमाली दृश्य हेर्ने र रातभरी नाचगान गरी नयाँवर्षको उल्लासमय स्वागत गर्न स्वदेशी पर्यटकको घुँइचो लागेको पर्यटन एवं होटल व्यवसायी रामसुन्दर बकेक्ले बताउनु भयो ।
समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको भक्तपुरको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, बिभिन्न हिमशृंखला समेत अवलोकन गर्न सकिन्छ ।
यहाँबाट सूर्योदयसंगै कञ्चनजंघा, मकालु, सगरमाथा, चोयु, सिसापाङमा, मनास्लु, अन्नपूर्ण, माछापुछ्रे, गौरीशंकर, धौलागिरि तथा लाङटाङजस्ता आठ हजार मिटरभन्दा अग्ला आठवटा हिमाल हेर्न सकिने भएकाले पछिल्लो समय रानीकोट पर्यटकीय गन्तव्य बन्न थालेको भिलेज हाईल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेँ बताउनु भयो ।
सहज पक्कि सडकदेखि सूर्यविनायक–रानीकोट–आशापुरी एवं सूर्यविनायक–रानीकोट–फुल्चोकी पदयात्राको रुटले रानीकोट पर्यटकको रोजाइमा पर्न थालेको भन्दै उहाँले कोरोना महामारी पछि यति धेरै आन्तरिक पर्यटकको आगमनले यहाँका सबै होटलहरु खचाखच भएको बताउनु भयो ।
अंग्रेजी नयाँवर्षको भीडले पर्यटन व्यवसायीलाई उर्जा र उत्साह थपेको बताउदै व्यवसायी बकेँ भन्नुहुन्छ–“रानीकोट ऐतिहासिक रुपले मात्र नभएर सुन्दर दृश्यावलोकनका लागि पनि उपयुक्त स्थान हो, १२ महिना पर्यटकको आकर्षण बन्न थालेको रानीकोटबाट देखिने हिमाल र सूर्योदयले नयाँवर्षमा त झन पर्यटक खचाखच हुने थालेका छन् । अग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकको घुइचो लागेपछि पर्यटन व्यबसायमा पुन आशा पलाएको छ ।”
रानीकोटमा रु. १६ करोडको लागतमा निर्माण भएको सबभन्दा ठूलो होटल भिलेज हाईल्याण्ड रिसोर्ट संचालनमा आएलगत्तै कोरोनाका कारण बन्द गर्नु परेपनि अहिले भने पुनः आशा जगाएको बकेँले बताउनु हुन्छ ।
नयाँ वर्ष आफ्नो होटल सात दिन अघिदेखि नै बुक भएकाले कतिपय आउन चाहने स्वदेशी पर्यटकलाई पनि ठाउँ दिन नसकेर अन्य होटलमा पठाउनु परेको भन्दै उहाँले आगामी एकसातासम्मका लागि होटलमा आन्तरिक पर्यटकले भरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रानीकोट नयाँ पर्यटकीय गन्तव्य बनेको हो, केही वर्षयता होटल व्यवसायीहरुले करोडौ लगानी गरिरहेका छन्, आन्तरिक पर्यटकको आगमनले पर्यटन व्यवसायी उत्साहित पनि भइरहेका छन् । मेरो होटलमा राती बस्न ६० जना र दिनमा पाँचसयसम्म रहने क्षमता रहेपनि नअटेर अरु होटलमा पठाउनु पर्छ ।”
रानीकोट रिसोर्टका सञ्चालक नारायण श्रेष्ठले नयाँ वर्ष मात्रै नभई बदाका दिनमा पनि यहाँ कोठा पाउन मूश्किल पर्न थालेको बताउनु हुन्छ । आन्तरिक पर्यटकको आगमन बढ्दै गए पछि होटलको क्ष्मता पनि बढाउदै लगेको बताउदै उहाँले काठमाडौंको नजिक पर्यटकीय गन्तव्य भएकाले पनि स्वदेशी पर्यटकको आगमन बढेको उहाँ बताउनु हुन्छ ।
घ्याम्पेडाँडामा १९ करोड भन्दा बढीको लागतमा सञ्चालनमा आएको नयाँ होटल ‘घ्याम्पेडाँडा रिसोर्ट’ का राजेन्द्र प्याथले आन्तरिक पर्यटकको चापले यहाँको होटल व्यबसाय चलेको बताउनु हुन्छ । घ्याम्पेडाँडामा अहिलेसम्मकै बढी लागतमा निर्माण भएको होटलले विदेशी र स्वदेशी पर्यटकलाई राख्दै आएको बताउदै उहाँले अग्रेजी नयाँ वर्षमा यहाँको होटल खचाखच भएको बताउनु भयो ।

