भक्तपुर,६ असोज । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर प्रादेशिक अस्पतालमा ‘फास्ट ट्र्याक ओपीडी’ को सुविधा थप गर्ने योजना रहेको बताएका छन् । शनिबार राष्ट्रिय सञ्चार केन्द्रले भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री थापाले उक्त सुविधा थप गर्ने योजना बनाइएको जानकारी गराएका हुन् ।
अस्पतालमा लाइन बस्न नखोज्ने र चाँडै फर्किन खोज्नेहरुलाई मध्यनजर गर्दै उक्त सुविधा ल्याउन लागेको उनले बताए । ‘फास्ट ट्र्याक ओपीडीमा बिमामार्फत् हुने स्वास्थ्य परीक्षण शूल्क भन्दा केही बढी शूल्क हुन्छ । तर, फाइदा के हुन्छ भन्दा लाइन बस्नु पर्दैन । पैसा नै तिरेर भए पनि चाँडै सकेर जान्छु भन्नेहरुलाई मध्यनजर गर्दै यो सुविधा ल्याउन लागिएको हो ।’, मन्त्री थापाले भने । तर, उक्त माध्यमबाट उपचार गराउँदा टिकटको खर्च भने सबै नगद नै तिर्नुपर्ने थापाले बताए ।
फास्ट ट्र्याक ओपीडीमार्फत् सेवा दिनलाई थप जनशक्तिको आवश्यकता पर्न जाने हुँदा त्यही रकमले नै चिकित्सकको छुट्टै एकाई बनाएर सेवा प्रवाह गर्ने योजना बनाइएको उनले जानकारी दिए ।
आगामी दिनहरुमा बागमती प्रदेश सरकारले आँखा उपचारका लागि पनि विभिन्न सेवा सुविधा थप गर्ने योजना बनाएको मन्त्री थापाले बताए । हालका लागि भक्तपुर प्रादेशिक अस्पताल र तिलगङ्गा आँखा अस्पतालबीच प्रादेशिक अस्पतालबाट नै तिलगङ्गाका चिकित्सकले आँखा उपचार गर्ने गरी सम्झौता गर्ने तयारीसमेत भएको उनले जानकारी दिए । त्यसका लागि अस्पतालमा तिलगङ्गाका लागि एउटा छुट्टै कोठको व्यवस्था गरिनेसमेत उनले बताए । उक्त सम्झौता पछि, अस्पतालमार्फत् नै आँखा उपचार गर्दा बिमाको क्षेत्रभित्र पर्न जाने हुँदा सर्वसाधारणका लागि सहज हुने थापाले बताए । साथै, तिलगंगा आँखा अस्पतालको पनि नयाँ एकाइ सञ्चालन गर्न धेरै रकम आवश्यक नपर्ने हुँदा दुबै पक्षलाई फाइदा हुने उनले बताए ।
भक्तपुर अस्पताल पछि उक्त सेवा बागमती प्रदेशका काभ्रे र चितवन बाहेकका ११ जिल्लामा विस्तार गरिने योजना रहेकोसमेत उनले जानकारी दिए । ‘काभ्रेमा भने रेयूकाई आँखा अस्पतालले राम्रो सुविधा दिइरहेका कारण त्यहाँ आँखा उपचारका लागि अन्य अस्पतालको आवश्यकता छैन ।’ उनले बताए ।
प्रदेशका अस्पतालहरुले हाल गुणस्तरीय सेवा प्रवाह गरिरहेको दाबी गर्दै उनले अस्पतालको व्यवस्थापनमा भने केही कमी रहेको बताए । तर, सरकारले स्वास्थ्य विधेयक पास गरेलगत्तै अस्पतालमा व्यवस्थापन समिति बन्ने र उक्त समस्या पनि समाधान हुने उनले बताए । अहिलेको अवस्थामा भक्तपुर अस्पतालमा नै पनि कर्मचारी अपर्याप्त रहेको बताउँदै उनले व्यवस्थापन समिति बनेपछि कर्मचारी थप गर्न सहज पुग्ने बताए । ‘नीतिगत आधारमा हेर्दा हाल भक्तपुर अस्पतालमा ४०० कर्मचारीको आवश्यकता पर्छ, तर २५७ कर्मचारी मात्र छन् ।’, बागमतीका स्वास्थ्यमन्त्री थापाले भने । तर, केही अस्पतालमा भने चिकित्सक हाजिर गरेर आफ्नो क्लिनिक जानेगरेको समेत गुनासो आएको उनले बताए । त्यसको समाधानका लागि इ–हाजिर पर्याप्त नभएको हुँदा डिजिटलाइजेसनमा जाने योजना बनाइएकोसमेत उनले जानकारी दिए । डिजिटलाइजेसनमा गएपछि चिकित्सकले दिनभर गरेको कामको रेकर्ड बस्ने हुँदा कामको समयमा यताउता जाने समस्याको समाधान हुने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा ६–७ महिनादेखि स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा अस्पताललाई खर्च धान्न मुस्किल परेको भन्ने प्रश्न उठेको थियो । त्यसलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य बीमा संघीय सरकारको अधिकार क्षेत्रमा पर्ने भएकाले सरकारले नै आफ्नो तरिकाबाट त्यसको भुक्तानी गर्ने उनले बताए । ‘स्वास्थ्य बिमामार्फत् सेवा दिएको भनी हाल १३ अर्ब बढीको दाबी परेको छ । केही ठाउँमा सेवा दिएकोभन्दा बढी बिल उठेको आशंका गरिएको छ । त्यसलाई छानबिन गरेपछि मात्र भुक्तानी गर्ने भनिएको छ ।’ उनले भने, ‘भक्तपुर प्रादेशिक अस्पताल नै पनि औषधि किन्न र कर्मचारीलाई तलब खुवाउनका लागि स्वास्थ्य बीमाको भुक्तानीको प्रतिक्षा गरिरहेको छ । यसमा पनि सरकारले पहल गरिरहेको भन्ने बुझिएको छ ।’
केही समय अगाडि केसंघीय सरकारका स्वास्थ्य मन्त्री प्रदिप पौडेलको अध्यक्षतामा सातै प्रदेशका स्वास्थ्य मन्त्री, गाउँपालिका महासंघ र नगरपालिका महासंघका नेतृत्वसहितको वैठक भएकोे थियो । त्यसमा पनि स्वास्थ्य बीमाको रहकम चाँडै नै भुक्तान गर्न पहल गरिने योजना बनाइएकोसमेत उनले जानकारी दिए ।
उक्त वैठकमा पनि स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित बनाउन संघ, प्रदेश र स्थानीय तह एकआपसमा समन्वय गरेर, एकअर्कासँग कार्यक्रम नजुध्ने गरी नयाँ योजना बनाउने सहमति भएको उनले बताए ।

