काठमाडौं, ११ असोज । सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् ।
उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको प्रहरीको भनाइ छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो ।
बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन गरी उनी फरार रहेका थिए । यो सहकारी प्रकरणमा मुछिएका अरू केही सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा चलेपनि उनी कारबाहीको दायराबाहिर थिए । उनी इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहित सहकारी सञ्चालकले १ हजार ५ सयभन्दा बढी बचतकर्ताको डेढ अर्बभन्दा बढी रकम अपचलन गरेको मुद्दा बागलुङ जिल्ला अदालतमा विचाराधीन छ ।
उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित भएका थिए ।