शनिबार, मंसिर २२, २०८१ | Sat December 07, 2024


मानव कल्याण समाजका बालबालिका र अभियन्तालाई सामुहिक टिका : फोटो फिचर

मानव कल्याण समाजका बालबालिका र अभियन्तालाई सामुहिक टिका : फोटो फिचर



काभ्रेपलाञचोक, ३० असोज। मानव कल्याण समाज (सेवा घर) मा दशैं मनाइएको छ । आज काभ्रेको पनौतीस्थित सेवा घरमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, पूर्व मन्त्री तथा प्रतिनिधिसभाका पूर्व सांसद महेश बस्नेत लगायतको उपस्थितिमा दशैंको सामुहिक टीका लगाइएको हो ।

बुधबार मन्त्री थापा र पूर्वमन्त्री बस्नेतले सेवा घरका बालबालिका र संस्थाका अभियन्तालाई टीका र जमरा लगाएर आशिर्वाद दिएका हुन् । दशैंको टीका कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री किरण थापाले बाल घरका साथै उपस्थित सबैलाई दशैंको शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानव कल्याण समाजकी संस्थापिका सुमि मानवले सडक जीवन बिताएकाहरुलाई आधारभूत आवश्यकता पुरा गरिदिएर महान कार्य गरिरहेको बताए । ‘बाटोमा दयनीय अवस्थामा भटिएकाहरुलाई सुमि मानवले खाना, नाना र छाना दिएर महान काम गरिरहनुभएको छ ।’, उनले भने । ‘मन्दिरमा गएर भेटी चढाउँदा पुण्य हुन्छ भन्ने मानिसहरुको हुलबाट निस्किएर मानव सेवालाई नै सबैभन्दा ठूलो धर्म मानेर मानव कल्याण समाज स्थापना गरी सेवा दिनुभएकोमा हामी आभारी छौं ।’, स्वास्थ्य मन्त्री थापाले भने ।

बालबालिकालाई ल्याएर राखेको मात्र नभएर उनीहरुको सबै आवश्यकताहरु पुरा गर्दै आएकोमा सुमि मानव वास्तवमै समाजका लागि आदर्श रहेको बताए । सुरुवातमा भाडाको घरबाट नै सेवा घर सञ्चालन गरेदेखि हाल जग्गा प्राप्तीसम्म मानवले कडा मिहिनेत गरेको उनले बताए । खानेकुराका लागि समेत अरुको सहयोग लिनुपर्ने लगायतका कठिनाइबाट अनुभव बटुल्दै सेवा घरलाई हालको अवस्थामा स्तरोन्नति गर्न सक्षम भएकोमा मन्त्री थापाले मानवलाई बधाइ समेत दिए ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले मानव कल्याण समाजको सेवा घरमा बस्दै आएका सबै बालबालिका र वृद्धवृद्धाको निःशूल्क स्वास्थ्य बीमा गरिदिने र त्यसका लागि लाग्ने शूल्क सबै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी विनियोजनसमेत गरिसकिएको जानकारी दिए । ‘अब सेवा घरमा बस्नुभएका बालबालिकाका साथै वृद्धवृद्धा सबैको निःशुल्क स्वास्थ्यबीमा गरिन्छ ।’ उनले भने । साथै, कतिपय स्थानमा स्वास्थ्य बीमा गर्दा नागरिकता, बसाइँसराइको कागज आदि नभएका कारणले समस्या आएकाले त्यसलाई पनि समाधान गर्न बागमती प्रदेशले कार्यविधि पास समेत गरिसकेको उनले जानकारी दिए ।

यो पनि पढ्नुहोस  भूकम्प र महेशसंगसंगै आयो, भक्तपुरको मुहार फेर्ने विकास लिएर आयो : एमाले उम्मेदवार महेश बस्नेत

पूर्व सांसद तथा एमालेका युवा नेता बस्नेतले सुमि मानव र टोलीहरुले धेरै संघर्ष गरेर हालको अवस्थामा आइपुगेको बताए । सुरुवाती दिनहरुमा धेरै अभावहरुबाट गुज्रिँदै विस्तारै बालबालिकाहरुलाई अहिलेजस्तो सेवा दिन सकेको उनले बताए । बस्नेतले आफूले स्थापनाकालदेखि नै मानव कल्याण समाज (सेवा घर) लाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाए ।

सुमि मानव वास्तवमा नै समाज सुधारक अभियन्ता रहेको र आफूलाई स्वघोषित ‘अभियन्ता’ मान्नेहरुले उनको मार्ग पछ्याउनुपर्ने बस्नेतले बताए । ‘अहिले हजार दुई हजार पैसा बाँडेर फोटो खिचाइ सामाजिक सञ्जालमा राखेर आफूलाई अभियन्ता भन्नेहरुको भिड बढीरहेको छ । उनीहरुले सुमि मानवसँग अभियन्ता हुन समाज प्रतिको उत्तरदायित्व सिक्नुपर्ने आवश्यकता छ ’, उनले भने । कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यलगायतले बालबालिकालाई टीका जमारा लगाइदिएर आशिर्वाद दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित