भक्तपुर, २८ चैत । भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का(बिस्केट) जात्रा सुरु भएको छ । चैत्र २८ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बिहीबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।
बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै भक्तपुर नगरपालिकाले बुधबार बिहान सद्भाव र्याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ । बिस्केट जात्राको पहिलो दिन काठै–काठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु हुन्छ । तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखी सकेपछि रथ तान्न सुरु हुन्छ ।
जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्याएर पुनःतौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्याउइने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई ‘होस्से/हैसे/हाहा’ गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ–आफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ ।
तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बलि चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलि पूजाको मासु प्रसादका रुपमा लाकुलाछेंबासीलाई बाँडिन्छ, जसलाई नेपाल भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ । बिस्केटको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिर्पूवक दशकर्म विधान गरी ५५ हात लामो लिङ्गो भेलुखेल स्थित ल्योसिङखेलमा उभ्याइन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको पूर्व सन्ध्यामा लिङ्गो उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्ष भाग र हातहरू नीलो कपडाले बेरिएको हुन्छ ।
लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मातृकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवर्दुगा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । बिस्केट जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।
बिस्केटको पाँचौं दिन अर्थात नयाँ वर्ष वैशाख १ गते लिङ्गो ढालिन्छ । त्यसको लगतै खंला टोलमा (रथ जुधाउने टोल) भैरवनाथ र भद्रकालीको रथलाई एकआपसमा जुधाइने परम्परा छ । जसलाई नेपाल भाषामा द्यःल्वाकिगु भनिन्छ । साँझपख दुमाजु देवीको जात्रासमेत गरिन्छ । लिङ्गो उभ्याउने र ढाल्ने जात्रा नै बिस्केटको प्रमुख जात्रा मानिन्छ । मल्ल राजाहरूले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजा विधि/विधान समेत थपगरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको संस्कृतिकर्मीहरू बताउँछन् । यो जात्रा सर्प अथवा नागनागिनी मारियो भन्ने भावमा मनाउँदै आएको किंवदन्ती संस्कृतिविद्हरू बताउँछन् ।
किंवदन्ती अनुसार प्राचीन समयमा भक्तपुरमा भक्तग्राम जङ्गलको रुपमा रहेको थियो । लिच्छविकालीन राजाको एकमात्र अत्यन्तै सुन्दरी छोरी थिइन् । राजाले आफ्नी छोरीको विवाह गर्न धेरै प्रयास गरेपनि सफल नभएपछि राजाले आफ्नी छोरीको विवाह गर्ने पुरुषलाई राजगद्दी नै सुम्पने प्रस्ताव राखेका थिए । राजगद्दीको लोभमा विवाह गर्ने धेरैजना पुरुषले राजकुमारीसित पहिलो रातमै ज्यान गुमाउनु परेको थियो । जसले गर्दा राजाले आफ्नी छोरीको शयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाट पुर्याउने मलामी गुठीको समेत स्थापना गर्नुपरेको थियो ।
संस्कृतिकर्मी ओम द्यौभडेलका अनुसार एक दिन सिकारी युवक घुम्दै जाँदा हनुमन्ते खोला किनारमा एक तान्त्रिक वृद्धासित भेट भएछ । ती तान्त्रिक वृद्धाले ती युवकलाई त्यस रहस्यको सम्र्पूण कुरा बताई राजकुमारीसित विवाह प्रस्ताव राख्न निर्देशन दिए । भोलिपल्ट बिहान लास उठाउन जाँदा युवक जिउँदो रहेको र राजकुमारी पति पाएर खुसी भइरहेकी पाउँदा सबै आश्चर्यमा परेका थिए । अन्ततः ती युवकले रातभरि जाग्राम बसी राजकुमारीको दुई नाकको प्वालबाट निस्केका भाले पोथी नाग नागिनीले डस्न खोज्दा तरबारले दुई टुक्रा पारेपछि मृत्युबाट बचेको रहस्य सुनाएछन् । यसरी युवकले राजकुमारीको नाकबाट निस्किएको सर्पलाई काटेर मार्न सफल भएपछि राजकुमारीसँग बिहे गर्न सफल भएको दिनदेखि नै त्यही सर्पको अन्त्यष्टिको सम्झनामा भक्तपुरबासीले बिस्केट जात्रा मनाउन थालिएको किंवदन्ती रहेको द्यौभडेल बताउँछन् ।
लिच्छविकालमा सर्प अथवा नागलाई ‘बिः’ भनिन्थ्यो र ‘स्यात’ले मार्यो भन्ने अर्थ लाग्छ । ‘बिः’ स्यात अपभ्रंश भई बिस्केट भएको हो । यसरी कसैले सोच्दै नसोचेको घटना भएकाले सम्पूर्ण देशवासी खुसी भई जोडी नाग अर्थात सर्पलाई सहरभरि देखाउँदै हिँडेको दिनदेखि बिस्केट जात्राको परम्परा सुरु भएको उनी बताउँछन् ।
इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठको भने भिन्न विचार छ । बिस्केट मरेको नागनागिनीको जात्रा नभई, नागनागिनी विश्वनाथ भैरव र भद्रकालीको प्रतिक तथा कुशलमङ्गलको प्रतिक भएको श्रेष्ठ बताउँछन् । नेवार समुदायले आफ्नै जीवित संस्कृति र परम्पराका रुपमा यस जात्रा र पर्वलाई बचाएर राखेका छन् । अहिलेसम्म बिस्केट जात्राप्रति उत्साहमा कमी नआउनु र मौलिकतासमेत विखण्डित नहुनु नै जात्राको ठूलो विशेषता मान्न सकिन्छ । बिस्केट जात्राको छैटौं दिन नगरको मध्य भागमा महाकाली र महालक्ष्मीको खट जुधाउने जात्रा, सातौं दिन ब्रम्हायणी र महेश्वरीको तिंप्वाजात्राका साथ खट जुधाउने जात्रा मनाइन्छ । जात्राको आठौं दिन भक्तपुर नगरमा रहेका सम्पूर्ण देवीदेवताको सगुण पूजा जात्रा हुन्छ । जसलाई स्थानीय भाषामा ‘द्यः स्वगँ’ बिइगु भनिन्छ ।
इतिहासविद् श्रेष्ठका अनुसार नेपाल संवत् ५ सय को अमरकोषमा ‘विश्वकेतु’ शब्दको पर्याय ‘विसिक’ दिइएको छ । हालसम्मको अन्वेषणमा ‘विश्वजात्रा’ को पहिलो उल्लेख टौमढीटोलको यक्षमल्लको नेपाल संवत् ५६१ को अभिलेखमा भेटिएको छ । नेपाल संवत् ६४१ को भूमिसम्बन्धी एउटा तमसूक–ताडपत्रमा ‘विसकजात्रा’ व्यवहृत छ । भक्तपुर राजदरबारको नेपाल संवत् ८०८ र ८१८ को जितामित्र मल्ल र भूपतिन्द्र मल्लका अभिलेखहरूमा ‘विस्क्यात’ उल्लेख छन् । वर्तमान नेवार लोकजीवनमा ‘बिस्का’ र नेपाली राष्ट्रियजीवनमा ‘बिस्केट’ नाम प्रचलित छन् । यसरी संस्कृत शब्द ‘विश्वकेतु’ (विश्वनाथभैरवको ध्वजा) कै परवर्तीकालमा चलेका नाम रूप विषुवकेतु, विसिक, विषुवकेतु यात्रा, विसिकयात, विसिक्यात हुँदै विस्क÷बिस्का÷बिस्केट नामान्तर प्रचलित रहेको ज्ञात हुन्छ ।
बिस्केट जात्राको अन्तिम दिन वैशाख ५ गतेका दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा समापन हुने गर्दछ । यस दिनलाई स्थानीय भाषामा द्यः(देवता) थांहां बिज्याइगु अर्थात देवतामाथि सवार हुने भनिन्छ । यस दिन बिस्केट जात्रा पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर सम्पन्न हुने गर्दछ ।
पछिल्लो समय बिस्केट जात्रामा रथ तानातान गर्ने क्रममा झडप हुने र जनधनको क्षति हुने भन्दै जिल्ला प्रशासन, सुरक्षा निकाय लगायतको चासोको विषय बन्ने गरेको छ । भैरवको रथ तान्ने क्रममा माथिल्लो र तल्लो टोलबीच ढुङ्गा हानाहान गर्ने विकृतिले जरो गाड्दै गइरहेको छ । बिस्केट जात्रा रथ तानाताना गर्ने जात्राका रुपमा लिने गरिन्छ । तर, जात्रा हरेक वर्ष साँझको समयमा सूरु हुने भएकाले रातीसम्म रथ तानातान गरिन्छ । रातको समयमा मादक पदार्थ सेवन गर्नेको जमाता उत्तिकै हुने गर्नाले सामान्य झैझडाले पनि उग्र रुप लिई झगडा हुने गरेको छ । यथपी वर्षदिनभरीको रिस साध्ने वा पोख्ने थलोको रुपमा समेत बिस्केट जात्रालाई लिइने गरिन्छ ।
जात्रालाई व्यवस्थित तथा मर्यादित बनाउन भक्तपुर नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा सुरक्षा निकाय, जात्रासँग सम्बन्धित व्यक्तिहरूको पटक–पटकको छलफलको तयारी पछि सद्भाव र्याली सहित जात्राको थालनी भएको छ । त्यसैगरी, बिस्केट जात्राकै अवसरमा मध्यपुर थिमिको लाय्कु, बालकुमारी, चपाचो, नगदेश, बोडेमा वैशाख २ गते मनाइने ३२ खटसहितको अबिर जात्रा मनाइने गरिन्छ । मध्यपुर थिमि बोडेमा जिब्रो छेड्ने जात्रा भव्यताका साथ मान्ने प्रचलन छ । जिल्लाको चारवटै नगरको विभिन्न स्थानमा खट जात्रा मनाइने गरिन्छ ।

