काठमाडौं, ३ मंसिर । बारमा हुन लागेको राष्ट्रिय युवा संघकाे कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेनजी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि काठमाडौंमै रोकिनु परेका नेकपा एमालेका नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू एमालेको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लाग्नुभएका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गर्नुभयो। तर पनि कार्यक्रम अवरुद्ध नभएको उहाँले बताउनुभयो । ‘विमान स्थल क्लोज गरेर सिमरा क्षेत्रमा कर्फ्यु लगाएर हामीलाई जान रोके पनि कार्यक्रमस्थल बाराको परानीपुरमा युवा संघका इञ्चार्ज राजीव पहारी, अध्यक्ष क्षितिज थेबे सहितका सबै नेता अहिले कार्यक्रम स्थलमै उपस्थित छन्, कार्यक्रम सुरु भएको छ,’ बस्नेतले सामाजिक सञ्जालमा कार्यक्रमको लाइभ भिडियो राख्दै लेख्नु भएको छ ।
उहाँका अनुसार सो कार्यक्रममा आजै माओवादी र मधेसवादी दलका ठूला सङ्ख्यामा नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी छ। बस्नेतले सरकारको यस्तो ‘रवैया’का विरुद्ध एमाले युवा संगठनले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिनुभएको छ । ‘हामी स्वयं आउन नसके पनि कार्यक्रम अवश्य हुन्छ, सबै युवाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछौँ,’ उहाँले भन्नुभयो ।

