धादिङ, १५ मंसीर । स्वास्थ्य मन्त्रालय बागमती प्रदेश, जनस्वाथ्य कार्यालय धादिङको आयोजना र रुबीभ्याली गाउँपालिकाको व्यवस्थापन तथा समन्वयमा रुबीभ्याली आधारभूत अस्पतालमा ३ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच गरिएको छ । शिविरमा हार्डजोर्जी तथा नशारोग, स्त्रीरोग सम्बन्धी, भिडियो एक्सरे सेवा, दन्त चिकित्सा सेवा, नेत्र चिकित्सकद्वारा आँखा परिक्षण तथा स्वास्थ्योपचार सेवा, बालरोग उपचार तथा व्यवस्थापन, जनरल फिजिसियनद्वारा परिक्षण तथा उपचार सेवा,आयुर्वेद सेवा, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने, स्वास्थ्य आमा समूहमा पोषण, मुख स्वास्थ्य तथा हातको सरसफाई बारे अन्तरक्रिया कार्यक्रम, विद्यालयको विद्यार्थीहरुको पोषण मुखको सरसफाई तथा हात धुने तरिकाबारे सिकाई र अन्तरक्रिया लगायतका सेवाहरु प्रदान गरिएको थियो । कार्यक्रमम ७ सय ३० जनाले स्वास्थ्य जाँच गराएका छन् । शिविरमा सेर्तुङ र तिप्लिङका १ सय २५ जना महिला तथा १ सय ५ जना विद्यार्थीलाई स्वास्थ्य शिक्षा सम्बन्धि अभिमुखिकरण गराएको थियो ।
बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य मन्त्रीथापाले रुबिभ्याली गाउँपालिका लाई १ थान ग्रामिण अल्ट्रासाउन्ड मेसिन र २ थान अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेका छन् । कार्यक्रममा मन्त्री थापाले स्वास्थ्य सेवा दुर्गम देखी सुगम क्षेत्रमा पुर्याउने बताएका छन् । स्वस्थ्य सेवा हरेक नागरिकको अधिकार भएको भन्दै यसको विस्तारमा मन्त्रालयले काम गरीरहेको बताए ।
कार्यक्रममा पुर्वमन्त्री एवम् प्रदेश सभा सदस्य डम्बर तामाङ, रुबीभ्याली गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ, जनस्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्की, बागमती प्रदेश स्वास्थ मन्त्रालयका चिकित्सक महाशाखाका प्रमुख डा.खगेश्वर गेलाल, धादिङ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीलगायतको सहभागिता थियो ।

