भक्तपुर, २१ चैत । सडकमा अलपत्र रहेका वेवारिसे सडक मानवको सहयोगार्थ भक्तपुरमा आजदेखि ज्ञानबिज्ञान महायज्ञ सञ्चालनमा हुने भएको छ । जिल्लालाई सडक मानवमुक्त गर्न उद्धार गरी, उपचार गर्ने, आश्रय दिने, शिक्षा, स्वास्थ्यको व्यवस्था र पारिवारिक पुर्नमिलन गर्दै आएको मानव कल्याण समाज भक्तपुरले सडक मानवका लागि स्थायी आवास निर्माणार्थ सो ज्ञानबिज्ञान महायज्ञ आयोजना गरेको हो ।
मध्यपुरथिमि नगरपालिका–५ राधेराधेस्थित यातायात कार्यालयसंगै आयोजना हुने महायज्ञ २७ गतेसम्म सञ्चालन हुनेछ । श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञको पुर्वसन्ध्यामा बिहिवार बिहान बृहत कलस यात्राको आयोजना गरिएको छ । कलस यात्रामा ठुलो संख्यामा महिला तथा भक्तजनको उपस्थिति रहेको महायज्ञ आयोजक मुल समारोह समितिका संयोजक गोपी न्यौपानेले बताए ।
समाजकी संस्थापक अध्यक्ष एवं महायज्ञकी कथा वाचिका देवी सुमी मानवले सडकबाट उद्धार गरिएका असहाय सडक एवं वेवारिसे मानवको लालन, पालन र स्थायी आवाससहितको दिगो व्यवस्थापनका लागि महायज्ञको आयोजना गर्न लागेको बताइन् । समाजले ‘२०७२ सालदेखि भक्तपुरबाट सडकमा बेवारिसे रहेका मानवहरुलाई चाउचाउ, बिस्कुट तथा पानी बाढ्ने अभियानबाट सेवाको सुरुवात गरेको थियौ ।
समाजले हाल भक्तपुरको झौखेलमा एउटा भाडाको टहरामा ४१ जना बेवारिसे सडक मानव राखेर पालन पोषण गर्दै आएको छ । समाजका सचिव बिजय कुमार पोखरेलका अनुसार, मानव कल्याण समाजले काठमाडौको पशुपति, काभ्रेको पनाती र धुलिखेल, दाङको तुलसीपुर, बाराको निजगढमा गरि पाँच सय पाँच जनालाई खाना, नाना र छानासहितको सेवा दिदै आएको छ ।
त्यस क्रममा हालसम्म दुई हजार एक सय सडक मानव तथा बेवारिसे मानवको उद्धार गरी परिवारमा पुर्नस्थापना गरिसकेको समाजकी संस्थापक अध्यक्ष सुमि मानवले बताइन । भक्तपुरबाट शुरु भएको अभियान अन्तर्गत अन्यत्रका पाँच शाखामा स्थायी/अस्थायी संरचनाको व्यवस्था भएपनि भक्तपुरमा भाडाको साँघुरो घरबाट सोवादिन कठिनाई भएपछि महायज्ञमार्फत सहयोग संकलन गरेर स्थायी बसोवासको व्यवस्था मिलाउँन लागिएको अध्यक्ष मानवको भनाई छ ।

