भक्तपुर, ०२ वैशाख । मध्यपुर थिमि–८ बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले परम्पराअनुसार यस वर्षको बिस्काः (बिस्केट) जात्रामा जिब्रो छेडाएका छन् । उनले तेस्रोपल्ट जिब्रो छेडाएका हुन् । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत प्रत्येक वैशाख २ मा मध्यपुर थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
यसअघि उनका बुबा बुद्धकृष्ण बाग श्रेष्ठले नौपल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाइसकेका छन् । सुजनले बुबा र ठूलोबुबाले सहभागीता जनाएको परम्परालाई निरन्तरता दिएर संस्कृति जनाएका छन् ।
दुई दशकभन्दा बढी जिब्रो छेड्ने जात्राको परम्परा सुजनकै परिवारले धानिसकेका छन् । सुजनका बुबा बुद्धकृष्णले ९ पल्ट, ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले १२ पल्ट जिब्रो छेडाएका थिए । ‘उहाँहरूले जोगाउनुभएको संस्कृति बचाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ, मैले आफ्नो कर्तव्य पालना मात्र गरेको हुँ,’ सुजनले भने । स्थानीयका अनुसार बुद्धकृष्णले ९, कृष्णचन्द्र बाग श्रेष्ठले १२, हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, बुद्धचन्द्र बागश्रेष्ठले ७, जुजुभाइबास श्रेष्ठले ८ जिब्रो छेडाएको तथ्यांक छ । सुजनलाई मङ्गलबार दिउँसो उनकै ठूलोबुबा कृष्णचन्द्र बाग श्रेष्ठले जिब्रो छेडिदिएका हुन् ।
जिब्रो छेड्ने जात्राको परम्परामा बोडेवासीमध्येबाट पनि नेवार श्रेष्ठ थरकै व्यक्ति चाहिने मानिन्छ । तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेडिन्छ । जिब्रो छेड्नुअघि कर्मी नाइकेले देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेड्दा रगत आउनु हुँदैन ।
विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठहरूको दर्शन गर्ने र छेडिसकेपछि पनि अर्धचन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने चलन छ । वैशाख २ को बिहानैदेखि नाइकेले विभिन्न देवगणको पूजा गरी पाँचो गणेशको प्रांगण रहेको पाटीमा मञ्च बनाई नायखिं बाजाका साथ जिब्रो छेड्ने परम्परा छ । नकर्मीले एक महिनादेखि लामो सुइरो बनाई तेलमा डुबाएर राखेका हुन्छन् । त्यही सुइरो ल्याएर सबै देवगणको पूजा गरी नायखिं बाजा बजाउँदै ल्याएपछि मञ्चमा राखी सबैको अगाडि जिब्रो छेडिन्छ । जिब्रो छेडाएर नगर परिक्रमा गराए मुलुकमा दुःख नहुने, रोग, अनिकाल, अनावृष्टि, अतिवृष्टि, महाभूकम्प हुन नदिने जनविश्वास छ । जिब्रो छेडेर नगर परिक्रमा गराएर बोडेकै महालक्ष्मी मन्दिर परिक्रमा गराइ सुइरो झिकेर महालक्ष्मी मन्दिरमै ठोक्ने परम्परा छ । जिब्रोबाट सुइरो निकालेपछि महालक्ष्मी मन्दिरकै माटो जिब्रोमा लगाइछ ।
थिमिमा सिन्दुर जात्रा
मध्यपुर थिमिवासीले ३२ खटसहितको सिन्दुर जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् । बिस्का (बिस्केट) जात्राको अवसरमा मङ्गलबार जात्रा गरिएको हो । सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात्, बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग (बत्ती) लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।
जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजासहित सिन्दुर जात्रा मनाइएको हो । बोडेको ७, टिकनी/नगदेश १/१ र थिमिको २३ गरी ३२ खटसहित सिन्दुर जात्रा मनाइने गरिन्छ । बोडे, नगदेशमा छुट्टाछुट्टै खट निकालिने गरिन्छ ।
मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बसाएर स्वागत गर्ने चलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने गरिन्छ । परम्पराअनुसार नै देवता लाय्कू दरबारभित्र पस्न नपाऊन् भनेर प्रवेश द्वारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरू देवताका गणहरू बस्ने परम्परा छ ।