काठमाडौं १३, वैशाख । आन्दोलित शिक्षकहरुका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्त शनिबार बिहान शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीसँग वार्तामा रहेका छन् । शिक्षा मन्त्रालयमा शिक्षा सचिव दीपक काफ्ले, नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा शिक्षामन्त्रीसँग छलफलमा व्यस्त छन् ।
शिक्षकहरुको आन्दोलन र उनीहरुका माग सम्बोधनका लागि छलफल जारी रहेको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । शुक्रबार शिक्षामन्त्रीले बोलाएको बैठकमा प्राविधिक कारण देखाउँदै महासंघ बैठकमा सहभागी भएन । शिक्षा मन्त्रालयले अर्को विज्ञप्ति जारी गर्दै शनिबार बिहानका लागि वार्तामा उपस्थित हुन शिक्षक महासंघका अध्यक्ष तथा अन्य पदाधिकारीलाई आह्वान गरेको थियो । सरकारले यसअघि पनि वार्ताका लागि पटक–पटक शिक्षकलाई आह्वान गरेको थियो ।
उता महासंघले चैत २० गतेदेखि जारी शिक्षकहरुको आन्दोलनलाई शनिबार पनि निरन्तरता दिने जनाएको छ ।