भक्तपुर, २७ भदौ : ‘जेनजी’ आन्दोलनका क्रममा यही भदौ २४ गते आन्दोलनरत समूहले तोडफोड गरि आगो लगाइदिदाँ सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास खण्डहरमा परिणत भएको छ ।
ओली निवासमा यतिखेर स्थानीय सलमपाखा युथ क्लबले ताल्चा लगाएर प्रवेश निषेधको बोर्ड टाँसेर राखेको छ । आन्दोलनरत भीड मध्ये केहीले ओली निवासमा रहेका महत्वपूर्ण सामानहरु लुटेर लगेको र कवाडी संकलन गर्नेहरु समेतले सामान लान थालेपछि सोहीदिन राती ८ बजे फोडिएका फलामका बारहरु वाईरिङ्ग गरि क्लबले ताल्चा लगाएर राखेको छ ।
आगोबाट कतिपय सामान, गाडी तथा मोटरसाइकल, बैठक हलसहितको एउटा र निवास गरि दुई ठूला भवन र सुरक्षाकर्मीको निवास रहेको साना दुई वटा भवन जलेर खण्डहरु भएको छ । हजारौ पुस्तक रहेको पुस्तकालय आधा भन्दा बढी जलेको छ ।

त्यसैगरि नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतको गुण्डुस्थित घर पनि खण्डहरमा परिणत भएको छ । आन्दोलनकारीले लगाईदिएको आगोले तीनतले घर पुरै जलेर खण्डहरमा परिणत भएको छ ।
त्यसैगरि वडा नं. ७ गुण्डुका वडाध्यक्ष रबिन्द्र सापकोटाको घर पनि आन्दोलनकारीले तोडफोड गरि आगो लगाइदिदा खण्डहर एको छ । नेता बस्नेतको घर आगजनी गर्ने टोलीले नै वडाध्यक्षको घर तोडफोड गरि आगजनी गरेको सापकोटाले बताउनुभयो ।

आन्दोलनमा उत्रिएको सोही टोलीले गुण्डुस्थित वडा कार्यालयको भवन समेत जलाएर खरानी बनाएका छन् । कार्यालयमा पार्किङ्ग गरिराखेको राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक एवं सांसद सन्तोष परियार चढ्ने सरकारी गाडी र जिल्ला समन्वय समितिको गाडीलगायत अन्य सवारी साधन पूर्ण रुपमा जलको छ । गुण्डुकै प्रहरी चौकी र संगै जोडिएको खानेपानी कार्यालय जलेर खण्डहर बनेको छ ।

त्यसैगरि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाका छोरी सुमित्रा थापाको सूर्यविनायक दार्जिलिङ्ग हाइटमा रहेको घरपनि आन्दोलनकारीले तोडफोड गरि जलाएर पूर्ण क्षति पुर्याएका छन् । घरमै रहेकी सुमित्राले घरभित्र रहेको कुनै पनि सामान समेत झिक्न नदिई तोडफोड गरि आगो लगाईदिदाँ खण्डहर भएको थापाले बताउनुभयो ।
त्यस्तै वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरेको सूनपा–८ सिपाडोलमा रहेको घर तोडफोड गरेका छन् । प्रहरी बृत्त जगातीबाट लुटेर लगको दुई बन्दुकसहित पुगेका आन्दोलनकारीले घरमा आगो लगाउन खोज्दा स्थानीय महिला प्रतिकारमा उत्रिएपछि बन्दुक छाडेर आन्दोलनकारी भागेका सुजन थापाले जानकारी दिनुभयो ।
त्यसैगरि वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशीको घर तोडफोड गरेका छन् भने एक मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीले आगो लगाईदिदाँ सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोट गाम्चाको वडा कार्यालय भवन पूर्ण रुपमा क्षति भई खण्डहर बनेको छ ।
मध्यपुरथिमि शंखधरचोक स्थित मध्यपुरथिमिका पूर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठको घरमा पनि तोडफोड गरि क्षति पुर्याएका छ्न् । सूर्यविनायक नगरपालिकाको कार्यालय भवन तोडफोड गरिएको छ भने भवन आगो लगाउने प्रयास गरेपछि नगर प्रहरी र स्थानीयले प्रतिकारमा उत्रिएपछि आन्दोलनकारी भागेर गएको स्थानीयले बताएका छन् ।
नजिकै रहेको डिभिजन सडक कार्यालय तोडफोड गरि आगजनी गर्दा धेरै ठूलो क्षति भएको छभने नजिकै रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयको तोडफोड गरिएको छ ।
आन्दोलनरत समुहले सरकारी कार्यालयहरुतर्फ जिल्ला प्रशासन कार्यालयको मुद्धा शाखालगायत पछाडि भाग जलाएर पूर्ण रुपमा क्षति पुर्याएको छन् । मद्धा शाखाको सम्पूर्ण दस्ताबेज र सामग्रीहरु जलेको छ । संगै रहेको जिल्ला समन्वय समिति, काठमाडौं नगर विकास कार्यालय, नेपाल स्काउट कार्यालय, क्षयरोग कार्यालय जलाएका छन् ।
महननगरीय प्रहरी बृत्त मध्यपुरथिमिको भवन पूर्ण रुपमा जलाउँदा खण्डहर बनेको छभने संगै रहेको मध्यपुरथिमि नगरपालिकाको कार्यालय भवन जलाउँदा ठूलो क्षति पुगेको छ । मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनसुन्दर श्रेष्ठको घर ताडफोड गरेका छन् भने मनोहरामा खोला किनारामा रहेको प्रहरी प्रभागमा आगो लगाईदिदाँ खण्डहर बनेको छ ।
मध्यपुरथिमि राधेराधेस्थित स्थानीय विकास श्रेष्ठको घरमा भाडामा रहेको यातायात कार्यालय तोडफोड गरि जलाउँदा खण्डहरु बनेको छ । आन्दोलनकारीले गाडी र मोटरसाइकलमा पेट्रोल छर्केर आगो लगाए पछि कार्यालयको सटर फोडर भित्र तीन तलासम्मका सबै सामानहरु बाहि निकालेर तोडफोर गरि आगो लगाउँदा सम्पूर्ण सामानदेखि कार्यालय भवन खण्डहरुमा परिणतभएको छ ।
जिल्ला ट्राफिक प्रहरी परिसर कटुञ्जेको भवन पूर्ण रुपमा खण्डहरमा परिणत भएको छ । यस भवनमा कारबाहीका लागि ल्याईएको १०० भन्दा बढी सवारी साधन पूर्ण रुपमा जलाएको जानकारी दिर्दै प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले करिब १० वटा मोटरसाइकल १६ बोरा चामल, खाद्यान्न, ट्राफिक प्रहरीको पोशाक, मोवाइललगायतका सामाग्रीहरु आन्दोलनमा आउनेहरुले लुटेर लगेको जानकारी दिनुभयो । कटुञ्जेकै सामुदायिक प्रहरी प्रभागमा आगोलगाई दिदाँ खण्डहर बनेको छ ।
जगातीस्थित प्रहरी बृत्तमा तोडफोर गरि हतिायर लुटेर लगेका छन् भने चाँगुनारायण नगरपालिकामा भित्रको खरिपाटी प्रहरी चौकी आन्दोलनकारीले आगो लगाउँदा खण्डहर बनेको छभने चाँगुनारायणकै सुडाल प्रहरी चौकी पनि खण्डहर बनेको छ ।
भक्तपुरका प्रमख जिल्ला अधिकारी नमराज घिमिरेले प्रहरी कार्यालयलाई सूचारु गर्ने प्रयास भइरहेको र अन्य सरकारी कार्यालयहरुको क्षति भएको विवरण संकलन गरि मुचुल्का उठाएपछि मात्रै सञ्चालन गर्ने गरि तयारी गरिएको जानकारी दिनुभयो । आइतबारबाट नै खण्डहरमा परिणत कार्यालयहरुलाई कुनै न कुनै बिन्दुबाट सेवा सूचारु गरेर जनताको काममा फर्किने गरि तयारी भइरहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

