भक्तपुर, ८ असोज । सूर्यविनायक नगरपालिका ७ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले गुण्डुमा रहेर पनि बाहिरका मानिस ल्याएर अपराधिक गतिबिधि गर्नेलाई कारबाही हुने बताउनु भएको छ ।
जेन्जी आन्दोलनका नाममा भदौ २४ गते गुण्डुमा रहेको वडा कार्यालयको भवन, प्रहरी चौकी, खानपानी कार्यालय, पूर्वसांसद एवं पूर्व मन्त्री एमाले नेता महेश बस्नेत र स्वयं आफ्नै घरमा समेत तोडफोड र आगजनी गरेको सन्दर्भ कोट्याउँदै उहाँले अपराधिक गतिबिधि गर्नेलाई कारबाही हुने बताउनु भएको हो ।
बुधबार स्थानीय व्यक्ति र बिभिन्न निकायको सहयोगमा आगजनी पछि पुर्न निर्माण गरिएको गुण्डु प्रहरी चौकी हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले अराजक गतिबिधि र आगजनी गर्नेको पहिचान भइरहेको उहाँले बताउनुभयो । उहाँले बालकोट जस्तै गुण्डुको पहिचान पनि विश्वमा झल्किने बताउदै पछिल्लो समय गुण्डु शान्त र सुरक्षित रहदाँ पनि बिरोधी तत्वहरुले गुण्डुको बदनाम गर्ने खोजे गुण्डुवासीले सहेर नबस्ने समेत बताउनुभयो ।

उहाँले आगजनी पछि दुई वटा कोठाबाट वडाको सेवा सूचारु गरेपनि केही समय पछि वडा कार्यालयको आगजनीबाट खरानी बनेको वस्तु हटाएर सरसफाइ गरि भवनको मर्मत गरि कार्यालय सञ्चालन गर्ने बताउनुभयो । अहिलेको विषम परिस्थितिमा गुण्डुलाई सुरक्षित राख्नका लागि पनि आन्दोलनका नाममा पूर्ण रुपमा जलाईएको गृुण्डु प्रहरी चौकीलाई आजबाट पुर्ननिर्माण गरिएको भवनबाट प्रहरीले सेवा सुचारु गरेको उहाँले बताउनुभयो ।
वडाध्यक्ष सापकोटाले भन्नुभयो, “जेन्जीको नाममा भएको आन्दोलनले गुण्डुमा पनि ठूलो क्षति पुर्याएको छ । यो अबस्थामा शान्ति सुरक्षा जटिल अबस्थामा पुगेको छ । त्यसैले छिटो प्रहरी चौकी पुनस्थापना गर्न हामी सबै लाग्यौ । अब प्रहरी र स्थानीय मिलेर शान्ति सुरक्षाको व्यबस्थालाई मजबुद पार्नु पर्छ ।” जेन्जी आन्दोलनका क्रममा जेलबाट फरार भएका कैदी बन्दीहरु गाउँ पसेको सुन्नमा आएको अबस्थामा सबै गाउँका बासिन्दाहरु चनाखो हुनुपर्नेमा जोड दिदै उहाँले गुण्डुको शान्ति सुरक्षाको व्यबस्था मजबुद बनाउन प्रहरीको संख्या समेत थप गरेर चौकीलाई पुर्नस्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा उहाँले चौकीका इन्चाज वरिष्ठ प्रहरी सहायक निरिक्षक केशवबहादुर कार्कीलाई साचो हस्तान्तरण गर्नुभयो । त्यसअवसरमा गुण्डु बृहत खानेपानी उपभोक्ता समितिका अध्यक्ष सरिता कुँवर, सामुदायीक प्रहरी सेवाका अध्यक्ष सन्तोष ढुङ्गेल, पुर्न निर्माण समितिका पदाधिकारी एवं सदस्यहरु, स्थानीय बिभिन्न व्यक्तिहरुको सहभागितामा चौकी हस्तान्तरण गरिएको हो ।
आगजनी पछि पुर्ननिर्माणका लागि भदौ २८ गते भएको भेलाबाट गठन भएको ६ सदस्यीय पुर्न निर्माण समितिका संयोजक रामकाजी खत्रीले चौकी पुर्ननिर्माणका लागि सात लाख १० हजार खर्च भएको जानकारी दिनुभयो । उहाँले तीन लाख १० हजार स्थानीयवासी मध्येका बिभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भएको, गुण्डु बृहत खानेपानी उपभोक्ता समितिबाट रु. एक लाख ५० हजार, साना किसान लघु उद्यम सहकारीबाट रु. दई लाख ५० हजार सहयोगबाट चौकीको पुर्ननिर्माण गरिएको उहाँले बताउनुभयो ।

