मङ्लबार, जेष्ठ १२, २०८३ | Tue May 26, 2026


स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक छ : स्वास्थ्य मन्त्री किरण थापा

स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक छ : स्वास्थ्य मन्त्री किरण थापा



हेटौँडा, १५ मंसिर : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले सीमित साधन स्रोतका कारण अस्पतालहरू सञ्चालनमा समस्या भइरहेको बताउनुभएको छ ।
वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको एक जिल्ला एक स्वास्थ्य सहर, एक स्थानीय तह एक नमुना स्वास्थ्य संस्था कार्यक्रमहरूको प्रदेश स्वास्थ्य सहजकर्ता लगायतको पैरवी, समन्वय र अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्य संस्थालाई व्यवस्थित रूपमा सञ्चालन गर्न तीनवटै तहका सरकार बिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।

‘तीनवटै तहले स्वास्थ्य क्षेत्रमा बजेट बनाउँदा कतिपय कार्यक्रममा दोहोरोपन देखिएको छ, हामी तीनवटै तहका जनप्रतिनिधि बसेर कार्यक्रम बनाउने हो भने दोहोरोपन हुँदैन’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि सशर्तका बजेट पठाउँदा पनि कतिपय गाउँपालिकामा ती बजेट खर्च नभएका उहाँले बताउनुभयो । उहाँले केन्द्र, प्रदेश र संघीय सरकारले कुन कुन कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने योजना बनाएर कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वाग्मती प्रदेश सकारले स्वास्थ्य क्षेत्रको विकासका लागि धेरै काम गरेको भए पनि त्यो अझै अपुग नै भएको उहाँले बताउनुभयो । कतिपय स्थानीय तहले सञ्चालन गरेको अस्पतालमा समेत प्रदेश सरकारले उपकरण र जनशक्ति पठाइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै प्रदेश तहका अस्पतालमा सेवा विस्तार गर्दै लगिएको उहाँले सुनाउनुभयो ।

स्थानीय सरकारलाई प्राथमिकतामा राखेर कार्यक्रम र योजना बनाउनु पर्ने उहाँको धारणा छ । ‘प्रत्यक्ष भेटिने सरकार स्थानीय सरकार हो, देखिने सरकार भनेको प्रदेश सरकार हो, लेखिने सरकार भनेको संघीय सरकार हो’, उहाँले भन्नुभयो ।

वाग्मती प्रदेश सरकारले यस वर्षबाट ५० जना डाक्टरहरू पढाउन सुरु गरेको बताउँदै उहाँले त्यहाँबाट उत्पादित डाक्टरहरू वाग्मती प्रदेश भित्रका स्थानीय तहका अस्पतालका डाक्टरहरू पठाइने बताउनुभयो । अहिले पनि छात्रवृत्तिबाट आएका मेडिकल डाक्टरहरूलाई प्रदेश स्वास्थ्य मन्त्रालयले गाउँका अस्पतालमा पठाइरहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस  भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

जनताको माग भौतिक पूर्वाकारको क्षेत्रमा बाढी रहेको बताउँदै अब स्वास्थ्य क्षेत्रको बजेटलाई पनि प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो । अब स्वास्थ्य सहरको अवधारणा आएकोले यसको लागि स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्नेमा थापाले जोड दिनुभयो । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य जनप्रतिनिधि र क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित