मङ्लबार, साउन १२, २०८३ | Tue July 28, 2026


आजबाट एमालेको ११औँ महाधिवेशनः प्रतिस्पर्धा, शक्ति प्रदर्शन र भावी नेतृत्वमा रस्साकस्सी

आजबाट एमालेको ११औँ महाधिवेशनः प्रतिस्पर्धा, शक्ति प्रदर्शन र भावी नेतृत्वमा रस्साकस्सी



भक्तपुर, २७ मङ्सिर : नेकपा एमालेको १० औं महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो कार्यकालको एक वर्ष अगाडि नै ११ औं महाधिवेशन थालेको छ । जेनजी आन्दोलनको दबाबपछि आफ्नो नेतृत्वको सरकार अपदस्थ भएको, २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको र देशको समग्र राजनीतिक तापक्रम उच्च बनेको परिस्थितिबीच सुरु हुन थालेको यो महाधिवेशन र यसको आगामी नेतृत्वका विषय बढी चासोका साथ हेरिएको छ ।

आजदेखि २९ मंसिरसम्म चल्ने महाधिवेशनमा सहभागी २,२६२ प्रतिनिधिले आगामी पाँच वर्षका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन गर्नेछन् ।

आजको खुला सत्र भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी क्षेत्रफलको खुला चौरमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् । उद्घाटन समारोहका लागि एमालेले अहिलेसम्मकै ठूलो, अत्याधुनिक र प्रतीकात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

उद्घाटन सत्रमा पूर्वप्रधानमन्त्री रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १६ वटा विभिन्न राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनमा भूगोल, प्रवास र जनसंगठनबाट निर्वाचित १,६७५ जना, केन्द्रीय कमिटी तथा आयोगबाट पदेन ४६१ जना, मनोनीत १०८ जना र एकीकृत समाजवादीबाट आएका १८ जना गरी कुल २,२६२ प्रतिनिधि सहभागी भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । भदौमा भएको विधान अधिवेशनले दिएको म्याडेडअनुसार यी प्रतिनिधिले २५१ सदस्यीय केन्द्रीय कमिटी र १५ सदस्यीय पदाधिकारी चयन गर्नेछन् ।

विधान महाधिवेशनले पारित गरेको संरचनाअनुसार अध्यक्ष, महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिव रहने व्यवस्था छ । यसअघि रहेको वरिष्ठ उपाध्यक्ष पद विधानबाट हटाइए पनि सोही पद सम्हालिरहेका ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै नेतृत्व चयनको प्रतिस्पर्धा थप रोचक बनेको छ ।

ओली–पोखरेल प्रतिस्पर्धा, प्यानलमै चुनावको सम्भावना

११औँ महाधिवेशनको सबैभन्दा केन्द्रमा अध्यक्ष पदको प्रतिस्पर्धा छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै १५ सदस्यीय पदाधिकारीका लागि प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ । दुवै पक्षले आ–आफ्नो समूह मजबुत बनाउन प्रतिनिधिसँग तीव्र भेटघाट र लबिङ गरिरहेका छन् ।

यो पनि पढ्नुहोस  ज्येष्ठ नागरिक सेवा समाजलाई सुवालले गरे १ लाख १० हजारको चेक हस्तान्तरण

१० मंसिर ०७८ मा चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि पाँच वर्षे कार्यकाल पूरा हुन अझै एक वर्ष बाँकी रहँदै एमालेले नयाँ नेतृत्व चयन गर्न लागेको हो । गत भदौमा सम्पन्न विधान महाधिवेशनले पारित गरेको विधान र नीति कायम राखेर नेतृत्व चयन गर्ने निर्णय केन्द्रीय सचिवालय बैठकले गरिसकेको छ ।

विधान संशोधन प्रस्तावमा ओली पछि हटे

पदाधिकारीमा आकांक्षीको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरुले पदाधिकारीको संख्या १० औ महाधिवेशनमै रहेका संख्यामा पदाधिकारी बनाएर जान सकिने धारणा औपचारिक रुपमा राखिरहेका थिए । तर शुक्रबार च्यासलस्थित केन्द्रीय कार्यालयमा साढे चार घण्टाभन्दा बढी समय बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ पुर्‍याउने र केन्द्रीय कमिटी ३०० भन्दा माथि लैजाने गरी विधान संशोधनको प्रस्ताव अघि सारेपनि अघि बढ्न सकेन  ।

विधान संशोधन गरेर जाने प्रस्तावलाई अध्यक्ष ओलीको निरन्तरता नचाहेका नेताहरुले असंभव हुने बताइरहेका थिए । शुक्रबार पनि वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईलगायत नेताहरूले तीव्र असहमति जनाएपछि ओली उक्त प्रस्तावबाट पछि हटेको दावी यी नेताहरुको छ ।

तर उपमहासचिव प्रदीप ज्ञवालीले विधान अधिवेशन गरेको धेरै समय नभएको र अहिले नै विधान संशोधन गर्दा बाहिर सन्देश राम्रो नजाने भएकोले यसलाइृ अघि नबढाइएको जनाएका छन् ।

सचिवालयबाट यो प्रस्ताव अघि नबढेपनि अझै पनि बन्द सत्र अगाडि हलमा समेत पदाधिकारी थपेरजान सक्ने दबाब आउनसक्ने केही नेताहरुको आंकलन छ । ‘अध्यक्ष ओलीले साँच्चिकै विधान संशोधन गरेर जाने चाहनुभएको हो भने अझै पनि हलबाट अगाडि बढाउन सक्नुहुन्छ, यो उहाँको चाहनामा भर पर्नेछ’ उनी निकट एक नेताले भने ।

हिजोको सचिवालय बैठकमा ती नेताहरूले तीन महिना अघि मात्रै विधान महाधिवेशनबाट पारित निर्णय उल्ट्याउन नहुने अडान लिए । विवाद बढेर महाधिवेशन नै प्रभावित हुन सक्ने जोखिम देखिएपछि अन्ततः विधान संशोधनको प्रस्ताव अघि नबढाउने सहमति बनेको हो । यससँगै १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम रहने निश्चित भएको छ ।

यो पनि पढ्नुहोस  भक्तपुरका मसाज सेन्टरबाट ६४ जना र अन्य गरि ७९ जना पक्राउ

तर अहिलेको विधान अनुसार १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी, स्थायी कमिटीमा रहेका नेताहरु जो निरन्तरता दिन चाहेका थिए र अहिले पदाधिकारी तथा केन्द्रीय कमिटीमा पुग्ने आकांक्षा राखेकाहरुको व्यवस्थापनका लागि नेतृत्वलाई गम्भीर संकट नै पुग्ने समन्वय गर्ने नेताहरुको आंकलन छ ।

सरकार–जेन–जी सम्झौताविरुद्ध विशेष प्रस्ताव, शक्ति प्रदर्शनको तयारी

सचिवालय बैठकले सरकार र जेन–जी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौतालाई असंवैधानिक, अनधिकृत र निर्वाचन नैतिकताविपरीत ठहर गर्दै विशेष प्रस्ताव पारित गरेको छ । प्रस्तावमा विध्वंसमा संलग्न अपराधीलाई उन्मुक्ति दिन खोजिएको, संविधानका आधारस्तम्भ कमजोर पार्ने प्रयास भएको र निर्वाचनको पूर्वसन्ध्यामा सरकार आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएको आरोप लगाइएको छ ।

दसौँ महाधिवेशनझैँ यसपटक पनि एमालेले उद्घाटन सत्रमा ‘मानवसागर’ उतार्ने दाबी गरेको छ । करिब तीन लाख सहभागी हुने अनुमान गरिएको छ । कौशलटार–गठ्ठाघर र जगाती गरी दुईतिरबाट जुलुस निकालिनेछ । १० हजार स्वयंसेवक परिचालन हुनेछन्, तीमध्ये ५०० विशेष तालिमप्राप्त ड्रेसधारी स्वयंसेवक रहनेछन् ।

१०८ रोपनी चौरमा तीन किलोमिटर टाढासम्म ध्वनि सुनिने ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम र ३० फिट अग्ला दुई एलइडी स्क्रिन जडान गरिएका छन् । मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा स्थापना गरिएको छ, जसले राष्ट्रिय एकता र सांस्कृतिक पहिचानको सन्देश दिने एमालेको दाबी छ ।

हजारभन्दा बढी आकांक्षी, तीव्र लबिङ

काठमाठौंमा आएका प्रतिनिधिहरु अधिकांश उम्मेदवार न बन्ने मुडमा देखिन्छन् । साढे २२ सय प्रतिनिधिमध्ये करिब आधा केन्द्रीय कमिटीका लागि आकांक्षी देखिएका छन् । उनीहरु मध्ये धेरै एकसाता पहिलेबाट आफ्नो सचिवालय नै बनाएर प्रचारमा लागेका देखिन्छन् पार्टीका एक पदाधिकारीका अनुसार कम्तीमा एक हजारभन्दा बढी प्रतिनिधि केन्द्रीय कमिटीमा पुग्ने चाहनामा देखिन्छ अहिलेको प्रचार हेर्दा ।

आकांक्षीहरूले अध्यक्ष ओली, अध्यक्षका प्रत्यासी पोखरेल, महासचिव शंकर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल तथा आफ्नो भूगोलबाट प्रतिनिधित्व गरेका नेताहरुलाई दिनहुँ भेटघाट तथा लबिङ गरेका छन् ।

कतिपय आकांक्षी सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् भने थुप्रै च्यासलस्थित पार्टी कार्यालयमा दिनहुँ उपस्थित भएर समर्थन जुटाइरहेका छन् । अध्यक्ष ओलीलाई गुन्डुस्थित निवासमै पुगेर भेट्नेहरूको संख्या पनि कम छैन । ओलीले सकेसम्म सूचीमा पार्ने, नभए पार्टीले मूल्यांकन गर्ने भन्दै आश्वासन दिने गरेको त्यहाँ पुग्ने नेताहरुको बुझाई छ । उनले धेरैलाई ढुक्क भएर जानुस् नै नभनेको त्यहाँ पुग्ने नेताहरुको भनाइ छ ।

यो पनि पढ्नुहोस  भक्तपुरमा चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म ११ दिने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को आयोजना हुने

अध्यक्ष पदका उम्मेदवार पोखरेल समूहले शुक्रबार अलग्गै युवा भेला आयोजना गर्दै महाधिवेशनका लागि छुट्टै ‘फोर्स’ गठन गरेको छ । अध्यक्ष ओली पक्षले नेसनल भोलेन्टियर फोर्स र राष्ट्रिय युवा संघलाई मतदान प्रक्रियामा एकलौटी प्रयोग गर्न सक्ने आशंकासहित पोखरेल समूहले कम्तीमा पाँच सय युवासहितको टोली परिचालन गरेको हो ।

रातो क्याप लगाएको टोली बानेश्वर बैंक्वेटदेखि पार्टी कार्यालय च्यासलसम्म प्रदर्शनसहित पुगेको थियो । भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीमा युवाको सहभागिता कम्तीमा २० प्रतिशत पुर्‍याइनुपर्ने धारणा राखे । पोखरेलले ‘सूचना टाँस’ र ‘नाम पढेर कमिटी बनाउने’ प्रवृत्तिले पार्टी कमजोर बनाएको भन्दै आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिए ।

सचिव योगेश भट्टराईले ४० वर्षमुनिका प्रतिनिधिलाई आधार बनाउँदै कम्तीमा १५ प्रतिशत युवा आरक्षण सुनिश्चित गर्नुपर्ने प्रस्ताव सचिवालय बैठकमा राखेका छन् । उपमहासचिव प्रदीप ज्ञवालीले पनि युवालाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराएर पार्टीलाई ऊर्जाशील बनाउने बताए । यसपटक एमालेले विद्युतीय मतदान प्रणाली प्रयोग गर्दैछ । मतदाता शिक्षाका लागि पार्टी कार्यालय र बन्दसत्र स्थलमा डेमो सञ्चालन गरिएको छ ।

अध्यक्ष ओली र पोखरेलबीच सर्वसम्मतिको विकल्पबारे अनौपचारिक छलफल भए पनि सहमति जुट्न सकेन । सहमति सम्भव नभए स्वस्थ प्रतिस्पर्धामार्फत आन्तरिक लोकतन्त्र बलियो बनाउने दुवै पक्षको प्रतिबद्धता छ । पोखरेलको अवधारणापत्र प्रतिनिधिलाई वितरण गर्न र आवश्यक परे हलमै बोल्न दिने निर्णय भइसकेको छ । अब साढे २२ सय प्रतिनिधिको मतले एमालेको भावी दिशा, नेतृत्व शैली र संगठनात्मक चरित्र तय गर्नेछ । चुनावी प्रतिस्पर्धा, शक्ति प्रदर्शन र आन्तरिक लोकतन्त्रको परीक्षणको रूपमा ११औँ महाधिवेशनलाई हेरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित