बिहिबार, बैशाख १७, २०८३ | Thu April 30, 2026


विश्व मिर्गौला दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना र्याली सम्पन्न

विश्व मिर्गौला दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना र्याली सम्पन्न



भक्तपुर, २८ फागुन :  आज विश्व मिर्गौला दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या

मन्त्री डा. सुधा शर्माले मिर्गौला रोगका बिरामीमध्ये धेरैजसो मधुमेह (चिनी रोग) भएका बिरामी रहेको बताउनुभयो। उहाँका अनुसार मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा राख्न नसक्दा मिर्गौला बिग्रने जोखिम बढ्ने गरेको बताउनु भयो ।

मन्त्री डा.शर्माले वर्षमा कम्तीमा एक पटक भए पनि मिर्गौला परीक्षण गराउन नागरिकलाई आग्रह गर्नुभएको छ। मिर्गौला रोगको जोखिम बढ्दै गएको अवस्थामा समयमै परीक्षण र सचेतना नै रोग नियन्त्रणको प्रभावकारी उपाय हुने उहाँले बताउनुभयो।“धेरै बिरामीले रोगको अवस्था ढिलो थाहा पाउँदा उपचार जटिल हुने गरेको छ। यदि सुरुमा नै थाहा पाए उपचार सजिलो हुन सक्छ ”उहाँले भन्नुभयो ।

उहाँले देशभरका अंग प्रत्यारोपण सेवाको केन्द्रविन्दुका रूपमा प्रत्यारोपण केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँदै भविष्यमा सेवा विस्तार र पहुँच बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी कार्यकारी निर्देशक तथा नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठ ले मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यासलाई प्राथमिकता दिएर विश्व मिर्गौला दिवस मनाइएको जानकारी दिनुभयो। उहाँका अनुसार यस वर्ष “Kidney Health for All: Caring for People, Protecting the Planet” भन्ने मूल नाराका साथ यस वर्षको कार्यक्रम आयोजना गरिएको हो।

डा. श्रेष्ठले मिर्गौला रोग प्रारम्भिक चरणमा प्रायः लक्षण नदेखिने भएकाले नियमित स्वास्थ्य परीक्षण अत्यन्त आवश्यक रहेको बताउनुभयो। “मिर्गौला रोग धेरैजसो अवस्थामा सुरुमा थाहा हुँदैन। त्यसैले समयमै परीक्षण गर्न सके धेरै जटिल अवस्थाबाट बच्न सकिन्छ,” उहाँले भन्नुभयो।

डा. श्रेष्ठले प्रत्यारोपण केन्द्रमा बिरामीको चाप अत्यधिक रहेको पनि उल्लेख गर्नुभयो। देशभरबाट आउने बिरामीका यस केन्द्रमा सेवा लिन आउनेको संख्या अपेक्षाभन्दा धेरै रहेको बताउनु भयो ।

यो पनि पढ्नुहोस  मानव कल्याण समाजका बालबालिका र अभियन्तालाई सामुहिक टिका

डा. श्रेष्ठका अनुसार उच्च रक्तचाप, मधुमेह, असन्तुलित खानपान, धूम्रपान, मदिरा सेवन तथा शारीरिक गतिविधिको कमीका कारण मिर्गौला रोगको जोखिम बढ्दै गएको छ। मिर्गौला रोग प्रारम्भिक चरणमा स्पष्ट लक्षण नदेखिने भएकाले धेरै बिरामी गम्भीर अवस्था पुगेपछि मात्र अस्पताल पुग्ने गरेका बताउनु भयो ।

मिर्गौला शरीरको महत्वपूर्ण अङ्ग हो जसले रगत फिल्टर गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने तथा शरीरमा तरल पदार्थको सन्तुलन कायम राख्ने काम गर्छ। त्यसैले यसको नियमित हेरचाह र परीक्षणले गम्भीर स्वास्थ्य समस्याबाट बच्न मद्दत पुग्ने चिकित्सकहरूको भनाइ छ।

चिकित्सकहरूले मिर्गौला स्वास्थ्य जोगाउन पर्याप्त पानी पिउने, नुन तथा चिल्लो पदार्थको अत्यधिक प्रयोग नगर्ने, नियमित व्यायाम गर्ने, धूम्रपान र मदिरा सेवनबाट टाढा रहने तथा चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न सुझाव दिएका छन्।

कार्यक्रममा अंगदाता, अंग प्रत्यारोपण गरेका बिरामी, चिकित्सक, नर्स , पत्रकार तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहीबार मनाइने विश्व मिर्गौला दिवस मिर्गौला रोगको जोखिम घटाउने, प्रारम्भिक पहिचान बढाउने र उपचार तथा अंग प्रत्यारोपण सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले विश्वभर मनाइँदै आएको छ। नेपालमा पनि विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित