ललितपुर, २२ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा गएको बाढी लगातै स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ ।
बिपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारले गरेको काम, समस्या, चुनौतीबारे जानकारी दिन आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने कामलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढाएको जानकारी दिनुभयो ।
“भदौ १० गते बिहान ११ बजे नै बैठक बसेर उद्धार तथा राहतका काम अघि बढायौँ, त्यसपछि हेटौँडामा नै बसेको बैठकले प्रदेश सरकारका सबै मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखलाई बोलाएर विपद् प्रभावित क्षेत्रमा तत्काल परिचालन हुन निर्देशन दिइएको थियो, सङ्घीय सरकारले राहत सामग्री सङ्कलन र समन्वय गर्ने, प्रदेश सरकारले समन्वय तथा सहजीकरण गर्ने तथा स्थानीय सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने गरी काम गर्ने हो,” उहाँले भन्नुभयो ।
मुख्यमन्त्री थापा मगरले विपद्का कारण बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका १५ वटा स्थानीय तह प्रभावित भएका र यस क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको बताउनुभयो । मुख्यमन्त्री थापाले बागमती प्रदेशका विशेष गरी चार जिल्ला—रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा पालिकाहरू बाढी पहिरोबाट बढी प्रभावित भएको जानकारी दिए ।
रसुवाका गोसाईंकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । तीमध्ये गोसाईंकुण्ड र उत्तर गयामा स्वास्थ्य चौकी, अस्पताल, पालिका भवनका साथै जनप्रतिनिधि तथा सर्वसाधारणको समेत ज्यान जाने गरी ठुलो मानवीय र भौतिक क्षति भएको छ ।
नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी, किस्पाङ र तारकेश्वर तथा धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा पनि क्षति पुगेको छ । मुख्यमन्त्री थापाले बाढी पहिरोका कारण ७ हजारभन्दा बढी मानिस प्रभावित भएको, ६६२ मेगावाटभन्दा बढी क्षमताका ६ वटा हाइड्रोपावरहरू बन्द तथा क्षतिग्रस्त भएको र खर्बौँको भौतिक क्षति भएको जानकारी दिनुभयो ।
विपत्ति लगतै १० गते बिहान ११ बजे नै प्रदेश विपत् व्यवस्थापन समितिको बैठक बसेर उद्धारमा टोली खटाइएको मुख्यमन्त्री थापाले जानकारी दिनुभयो । उनी स्वयम् ४ बजे नुवाकोटको बट्टार पुगेर चार वटा प्रादेशिक अस्पतालका १०० भन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीसहित हेल्थ क्याम्प सञ्चालन गराएका थिए ।
घरबारविहीन भएका र आफन्त गुमाएका पीडितहरूका लागि तत्काल चार वटा सेल्टर (अस्थायी बासस्थान) निर्माण गरी गाँस र बासको व्यवस्था गरिएको उनले बताए । यस्तै, अलपत्र परेका १५ सयभन्दा बढी यात्रु, भक्तजन तथा श्रमिकहरूलाई प्रदेश सरकारको समन्वयमा बसमार्फत निःशुल्क काठमाडौँसम्म ल्याउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री थापन मगरले अलपत्र नागरिकका लागि चारवटा होल्डिङ सेन्टर सञ्चालन गरी खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको जानकारी दिनुभयो । “रसुवा र नुवाकोटलाई रु एक एक करोड तथा धादिङ र चितवनलाई रु ५०–५० लाख राहत उपलब्ध गराउने निर्णयअनुसार व्यवस्थापन गरेका छौँ, शव व्यवस्थापन, डीएनए परीक्षण, स्वास्थ्य सेवा तथा १६ मनोपरामर्शदाता परिचालन गरिएको छ,” उहाँले भन्नुभयो । बाढीमा ज्यान गुमाएका मृतकहरूको शव व्यवस्थापन तथा सदगद्का लागि प्रति शव २५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइने घोषणा समेत गरिएको छ । मुख्यमन्त्री थापा मगरले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकताअनुसार आवासीय विद्यालयको व्यवस्था गरिने जानकारी गराउँदै प्रदेश सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म काम गर्ने बताउनुभयो ।
अवरुद्ध बनेका सडकहरू सञ्चालन गर्न भौतिक पूर्वाधार मन्त्रालय मातहतका पूर्वाधार विकास कार्यालयमार्फत नुवाकोट र रसुवा दुवैतर्फ मेसिनहरू परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको मुख्यमन्त्री थापाले जानकारी दिए । प्रदेश विपत् व्यवस्थापन कोषबाट विपत् प्रभावित जिल्लाहरूलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ ।
मुख्यमन्त्री थापामगरले यो अकल्पनीय दुर्घटना भएकाले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारहरूले एकापसमा समन्वय र सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अहिले आरोप–प्रत्यारोप गर्ने समय होइन, तीन वटै सरकारले आ–आफ्नो जिम्मेवारी अनुसार पीडितको घाउमा मलहम लगाउनुपर्छ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Post Views: 6