भक्तपुर १४ असोज । भक्तपुरको प्रमुख व्यापारिक केन्द्र जगाती चोकमा अत्याधुनिक प्रविधिसहितको होन्डाको नयाँ आधिकारिक शोरुम सञ्चालनमा आएको छ। करोडौँ रुपैयाँको लगानीमा स्थापना गरिएको यस शोरुमबाट होन्डा ब्रान्डका दुईपाङ्ग्रे सवारी साधनको बिक्री वितरणका साथै दक्ष प्राविधिकमार्फत मर्मत सम्भार र सर्विसिङ सुविधा प्रदान गरिने भएको छ।
आसन्न दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त शोरुमले ग्राहकलाई गुणस्तरीय र नागरिकमैत्री सेवा दिने सञ्चालक नवीन प्रजापतिले जानकारी दिए। “हामीले केवल व्यापार मात्र नभई ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राखेर अन्य शोरुमभन्दा फरक र सहज ढङ्गले सेवा दिने लक्ष्य राखेका छौँ,” उनले भने।

नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीका जेनेरल म्यानेजर मुकुन्द श्रेष्ठले नयाँ बिक्री केन्द्र सञ्चालनसँगै अब भक्तपुर र आसपासका बासिन्दालाई सवारी साधन खरिद तथा पार्टपुर्जाका लागि काठमाडौँसम्म धाउनुपर्ने बाध्यता हट्ने बताए। उनले होन्डाका नयाँ मोडल तथा जेनुइन पार्ट्सहरू सर्वसुलभ मूल्यमा जगातीबाटै उपलब्ध हुने जानकारी दिए।

नेपाली बजारमा विद्युतीय सवारी साधन (ईभी) को माग बढ्दै गएको सन्दर्भमा आगामी दिनमा होन्डाले ईभी मोडलहरू भित्र्याएमा यसै शोरुममार्फत बिक्री वितरण गरिने सञ्चालकहरूले जनाएका छन्। अरनिको राजमार्गसँगै जोडिएको जगाती चोकमा रहेको यो शोरुमबाट भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक र ललितपुरका सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।



