शुक्रबार, अशोज १६, २०८३ | Fri October 02, 2026


संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्न लाग्ने बताउनु भएको छ : मुख्यमन्त्री किरण थापा मगर

संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्न लाग्ने बताउनु भएको छ : मुख्यमन्त्री किरण थापा मगर



हेटौडा, १४ असोज । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्न लाग्ने बताउनु भएको छ । उहाँले सहकारी संस्था धेरै खोल्ने भन्दा सक्षम र शेयर सदस्यको हितमा काम गर्ने सहकारी बनाउन प्रदेश सरकारले प्राथमिकता दिने बताउनु भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संस्था ( नेफ्स्कून) ले आज चितवनमा आयोजना गरेको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उहाँले केही सहकारी संस्थामा देखिएका विकृतिलाई आधार बनाएर सम्पूर्ण सहकारी अभियानलाई एउटै दृष्टिले हेर्न नमिल्ने उहाँले बताउनुभयो ।

सहकारीको अवधारणा आफैँमा महत्वपूर्ण आर्थिक–सामाजिक अवधारणा भएको भन्दै उहाँले समस्या जहाँ छ, त्यहाँ सुधार गर्नुपर्छ; कमजोरी जहाँ छ, त्यहाँ नियमन गरेर सुशासन बलियो बनाउनु पर्ने बताउनुभयो ।

मुख्यमन्त्री थापाले भन्नुभयो, “सरकार सहकारीको दैनिक कारोबार चलाउने संस्था होइन तर आवश्यक कानुनी व्यवस्था गर्ने, नियमनलाई प्रभावकारी बनाउने, संस्थागत क्षमता विकासमा सहयोग गर्ने र सहकारी क्षेत्रलाई सुरक्षित तथा व्यवस्थित रूपमा सञ्चालन हुने वातावरण बनाउने जिम्मेवारी सरकारको हो । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर सहकारी क्षेत्रका समस्या समाधान गर्नुपर्ने आवश्यकता छ ।”

मुख्यमन्त्री थापाले भन्नुभयो, “सहकारी ऐनले बचत तथा ऋणको कारोबार गर्ने सहकारीका लागि व्यवस्था गरेको मापदण्ड र निर्देशनलाई व्यवहारमा कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा साझा धारणा निर्माण गर्नुपर्ने आजको आवश्यकता छ । नियम बनाउनु मात्र पर्याप्त हुँदैन; त्यसको व्यवहारिक कार्यान्वयन, संस्थाको क्षमता र सदस्यहरुबीच सन्तुलन पनि कायम गर्नुपर्छ ।”

उहाँले सदस्यको बचत सुरक्षित हुने, संस्थाको कारोबार पारदर्शी हुने, सञ्चालक उत्तरदायी हुने, व्यवस्थापन व्यावसायिक हुने र सदस्यले आफ्नो संस्थाको वास्तविक वित्तीय अवस्था बुझ्न सक्ने वातावरण निर्माण गर्न सके सहकारीले अवश्य पनि आर्थिकरुपमा जीवनस्तर उकास्न मद्दत पुग्ने बताउनुभयो ।

यो पनि पढ्नुहोस  आन्दोलनमा अस्ताए ग्लोबल कलेजमा १२ कक्षा अध्ययनरत श्रीयम

उहाँले भन्नुभयो, “म विशेषगरी नेफ्स्कूनलाई आग्रह गर्न चाहन्छु नियमन र मापदण्डको कुरा गर्दा समस्या परेका संस्थालाई मात्र हेर्ने होइन, समस्या आउन नदिने प्रणाली विकास गर्नेतर्फ पनि ध्यान दिनुपर्छ । जोखिम पहिचान, वित्तीय अनुशासन, संस्थागत सुशासन, सञ्चालक तथा कर्मचारीको क्षमता विकास, प्रविधिको प्रयोग र सदस्यको वित्तीय साक्षरता जस्ता विषयमा नेफ्स्कूनले अझ प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । सहकारी संस्थाहरुमा देखिएका समस्याहरुलाई छाता संगठनका रुपमा रहेको नैफ्स्कुनले समाधान गर्ने एवम् समस्या आउन नदिने बाटोतर्फ लाग्नुपर्दछ ।”

सहकारीको मर्म भनेको सामूहिकता हो, सहकार्य हो, पारस्परिक विश्वास हो भन्दै उहाँले एउटा व्यक्तिको पूँजीले गर्न नसक्ने काम धेरै मानिसको सानो–सानो पूँजी एकत्रित गरेर गर्न सकिन्छ भन्ने मान्यताबाट सहकारी जन्मिएको बताउनुभयो । सहकारी संस्था सदस्यको बचत संकलन गर्ने र ऋण दिने ठाउँ मात्र नभई यो सदस्यको आर्थिक सुरक्षा, सामाजिक सम्बन्ध र सामूहिक समृद्धिसँग जोडिएको संस्था भएको बताउनुभयो ।

पछिल्ला दिनमा सहकारी क्षेत्रमा केही गम्भीर प्रश्नहरू उठेको सन्दर्भ कोट्याउँदै उहाँले केही संस्थामा देखिएका वित्तीय अपचलन, अनुशासनका समस्या, बचतकर्ताको रकम परिचालनमा देखिएको कमजोरी, ऋण लगानीमा पारदर्शिताको अभाव, सञ्चालक र व्यवस्थापनबीचको स्वार्थको द्वन्द्व, शेयर सदस्यलाई पर्याप्त सूचना नदिने प्रवृत्तिले समग्र सहकारी अभियानप्रतिको विश्वासमा असर पर्न थालेको बताउनुभयो ।

अहिले वागमती प्रदेशमा आएको प्राकृतिक महाविपत्तिको पीडालाई बिर्सन नसकिने बताउदै मुख्यमन्त्री थापाले भन्नुभयो, “भोटेकोशीमा आएको बाढीले जनधनमा पु¥याएको क्षतिले हामीलाई विपद्को समयमा राज्य र समाजका सबै संस्थाहरूको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने सम्झाएको छ । विपद् आउँदा सबैभन्दा पहिले प्रभावित हुने मानिस सामान्य नागरिक नै हो । घर जान्छ, व्यवसाय जान्छ, आम्दानी रोकिन्छ र उसले लिएको ऋण तिर्ने क्षमतासमेत प्रभावित हुन सक्छ भने ब्यक्तिको ज्यान पनि जान्छ । यस्तो अवस्थामा सहकारीले आफ्नो सदस्यलाई केवल ‘ऋणी’ को रूपमा मात्र नहेरी संकटमा परेको सदस्य र परिवारको एक हिस्सा हो भन्ने भावनाबाट हेर्नुपर्छ । विपद् प्रभावित सदस्यका लागि आवश्यकताअनुसार ऋण पुनर्संरचना, भुक्तानीमा सहजीकरण, वित्तीय परामर्श तथा सम्भव सहयोगका उपायहरूबारे सहकारी क्षेत्रले सोच्नुपर्छ ।”

यो पनि पढ्नुहोस  बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त संरचनाको पुर्ननिर्माणमा स्थानीय तहले पनि सघाउँनुहोस् : मुख्यमन्त्री किरण थापा

महाविपत्तिमा नेफ्स्कूनको भूमिका अझ महत्वपूर्ण हुन्छ भन्दै उहाँले एउटा संस्था आफैँले समस्या समाधान गर्न नसक्ने अवस्थामा सहकारीको छाता संस्थाले समन्वय, प्राविधिक सहयोग, जोखिम व्यवस्थापन र आवश्यक सहजीकरण गर्न सक्ने व्यवस्था विकास गर्नुपर्ने बताउनुभयो ।

विपद्का कारण समस्यामा परेका परिवारलाई राज्यका निकायसँगै समाजका सबै जिम्मेवार संस्थाहरूले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउदै उहाँले सहकारी क्षेत्रले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने यो एउटा महत्वपूर्ण अवसर भएको र आफूले सकेको सहयोग पनि सहकारी क्षेत्रले गर्न आव्हान गर्नुभयो ।
सहकारी संस्थाहरूले पनि आफ्ना सदस्यलाई विपद् तथा संकटबाट सुरक्षित राख्ने आन्तरिक प्रणाली निर्माण गर्नुर्नेमा जोड दिनुभयो ।

सहकारीको पूँजी कहाँ परिचालन भइरहेको छ ? बचत संकलन गरेर सीमित व्यक्ति वा सीमित क्षेत्रमा अत्यधिक जोखिम लिएर लगानी गर्ने होइन भन्दै उहाँले सहकारीको पूँजी सदस्यको आय र उत्पादन बढाउने क्षेत्रमा जानुपर्ने बताउनुभयो । कृषि, पर्यटन, साना तथा मझौला व्यवसाय, स्थानीय उत्पादन, उद्यमशीलता र रोजगारी सिर्जनासँग सहकारीको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।

सहकारीलाई राजनीतिक, व्यक्तिगत वा सीमित समूहको स्वार्थभन्दा माथि उठाएर सदस्यको हित र संस्थाको दीर्घकालीन स्थायित्वसँग जोड्नु पर्ने बताउदै उहाँले सहकारीको वास्तविक पूँजी केवल पैसा नभई सदस्यको विश्वास भएको बताउनुभयो ।

पैसा फेरि कमाउन सकिन्छ, तर एकपटक गुमेको विश्वास पुनः स्थापित गर्न धेरै कठिन हुन्छ भन्दै उहाँले सहकारीमा पारदर्शिता बढाउने, वित्तीय अनुशासन कायम गर्ने, जोखिम व्यवस्थापन बलियो बनाउने, सदस्यको सहभागिता सुनिश्चित गर्ने, सञ्चालक र व्यवस्थापनको क्षमता बढाउने र सहकारीको पूँजीलाई उत्पादन तथा रोजगारीसँग जोड्ने कार्य निरन्तर गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित