बनेपा (काभ्रे), । बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालमा निर्माण भएको बहिरंग विभागको नयाँ भवन उद्दघाटन गर्नु भएको छ । अस्पतालले बुधबार यहाँ आयोजना गरेको भवन उद्घाटन कार्यक्रममा उहाँले नयाँ भवन र अस्पतालले सञ्चालनमा ल्याएको हेमोडाइलासिस वार्ड समेत उहाँले उद्घाटन गर्नु भएको हो ।
बनेपाका ८१ वर्षीय राजभाई प्रधानको व्यक्तिगत खर्चमा २८ हजार वर्गफिटमा बनेको ४ तले बहिरंग विभागको भवन निर्माण भएको हो ।्२०८१ कार्तिक २१ गते दुई तला भनेर निर्माण थालिएको भएपनि अस्पतालको लागि अपर्याप्त हुने भएपछि थप दुई तला निर्माणको लागि प्रधानले सहयोग थप गरेका थिए । २०८३ भाद्र १० गते प्रधानकै जन्मदिनको सन्दर्भ पारेर भवन अस्पताललाई हस्तान्तरण गरिसकिएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री थापाले शीर मेमोरियल अस्पतालमा क्यान्सर रोग उपचारको लागि रेडिएसन मेशिन जडानको लागि प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको बताउँदै काभ्रेपलाञ्चोक र आसपासका प्रभावित लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले कसैले पनि अब उपचार नपाएर ज्यान गुमाउनु पर्ने अबस्थाको अन्त्य गरिने बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य बदनकुमार भण्डारी, बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठ, लक्ष्मण लम्साल, रत्न ढकाल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतम, बनेपा नगरपालिकाका प्रमुख शान्तीरत्न शाक्य, वडा नं ५ का अध्यक्ष बलराम अधिकारी लगायतले दाता प्रधानको भावनाको सम्मान गर्दै आफ्नो तर्फबाट अस्पताललाई सहयोग गर्ने प्रतिवद्धता बताउनुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा. एञ्जेला बस्नेतले सरकार, समाज र दाताहरुको सहयोगले नै अस्पतालले क्रमिक रुपमा सेवा विस्तार गर्न सकेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रभा शाक्यले ६६ बर्षदेखि सेवा दिइरहेको अस्पतालमा थप भएका संरचनाले यहाँको सेवा व्यवस्थित, सहज, सुरक्षित र अझ गुणस्तरीय हुने विश्वास व्यक्त गर्नुभयो ।

