काभ्रपलाञ्चोक, ४ मंसिर । वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित प्रसिद्ध लड्केश्वर महादेव मन्दिरमा धार्मिक मेलामा सहभागि हुनु भएको छ ।
शुक्रबार लागेको हरिबोधनी एकादशी मेलामा सहभागी भई उहाँले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धनमा जोड दिनु भएको थियो । उहाँले हाम्रो मौलिक धर्म, संस्कृति, आस्था र परम्पराको संरक्षण गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउनेमा विश्वास व्यक्त गर्नु भयो । nकरिब ३५० वर्ष पुरानो इतिहास बोकेको यस मेलामा काभ्रेसहित आसपासका विभिन्न जिल्लाबाट भक्तजन दर्शन तथा पूजाआजाका लागि आउने गरेका छन् ।
गुफाभित्र अवस्थित लड्केश्वर महादेवको दर्शन गर्न प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजन पुग्ने गर्छन् । मन्दिर परिसरमा निर्माण गरिएको १०८ फिट अग्लो शिव त्रिशूल र १०८ शिवधाराले यस धामको धार्मिक तथा पर्यटकीय महत्व थप बढाएको छ ।
धार्मिक किंवदन्तीअनुसार तत्कालीन राजा भूपतेन्द्र मल्लले लड्केश्वर महादेवको दर्शन तथा पूजाआजा गरेपछि यहाँ मेला लाग्ने परम्परा सुरु भएको मानिन्छ । मेलाका अवसरमा भक्तजनले महादेवको पूजाआजा गर्नुका साथै भजनकीर्तन र जाग्राम बस्ने परम्परासमेत रहिआएको छ ।
धार्मिक आस्था र स्थानीय संस्कृतिको संरक्षणसँग जोडिएको यस मेलाको महत्त्वलाई ध्यानमा राख्दै पनौती नगरपालिकाले यस अवसरमा स्थानीय बिदासमेत दिँदै आएको छ । पुस्तौँदेखि निरन्तर लाग्दै आएको लड्केश्वर मेला धार्मिक विश्वास, मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने महत्त्वपूर्ण पर्वका रूपमा स्थापित हुँदै आएको छ ।

