“भूकम्प र महेश बस्नेत एकै पटक आयो र महेशले भक्तपुरमा बिकास लिएर आयो, भूकम्पले धेरै क्षति पुर्यायो, त्यतिखेर महेश बस्नेत आयो, राहतको पोको लिएर आयो, हजारौ बण्डल जस्ता लिएर आयो, त्रिपाल लिएर आयो, पीडितहरुलाई बस्ने बासको व्यबस्था गरेर आयो, खानका लागि दाल, चामल, नून, तेल लिएर आयो, लत्ता कपडा लिएर आयो, कुन दलका कार्यकर्ता भनेर होइन, पीडितको घरघरमा पुग्ने गरि राहत बाड्यो, जनताले अहिले पनि त्यो दिन सम्झिरहेका छन्, ती जस्ताबाट बनेको टहरा अहिले पनि ज्यूदै छन् ।”
====================================================
भक्तपुर, २९ कात्तिक । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं पोलिटब्यूरो सदस्य महेश बस्नेतले मंसिर ४ गतेबाट गठबन्धनको बैशाखी भाचिने बताउनु भएको छ । सूर्यविनायकको बालकोटमा आयोजित चुनाबी सभामा बोल्दै उहाँले मंसिर ४ पछि गठबन्धनको बैशाखी भाचिएर अन्त्य हुने र जनताबाट तिरस्कृत हुने बताउनु भयो ।
उहाँले भक्तपुरका जनताको लागि एमालेको विकल्प कांग्रेस हुनै नसक्ने बताउदै आगामी निर्वाचनमा कांग्रेसको पराजयसंगै लाखौं नेता तथा कार्यकर्ता एमालेको बलियो घरभित्र आउने दाबी गर्नु भयो । निर्वाचन पछि काँग्रेसमा आउने राजनीतिक भुकम्पलाई एमालेले थाम्ने र त्यसपछि देशमा पाँचवर्षे स्थिर सरकार आउने बताउनु भयो ।
भक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेको उम्मेदवारसमेत रहनु भएका पूर्व मन्त्री बस्नेतले गठबन्धन सरकारले विकासका काम ठप्प पारेर मनाउदै आएको बिकास होलिडेको अन्त्य गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार आएपछि फेरी बिकास र समृद्धिको लहर आउने बताउनु भयो ।

काँग्रेसले केपी ओली बालकोटमा बसेर के बिकास भो भनेर सोध्ने गरेको प्रसंग कोट्याउदै उहाँले बालकोटका सबै सडक बनिसकेका, बालमजदुरको अन्त्य भएको, सडक बालिबालिका नभएको, पूर्वाधारको सम्पूर्ण बिकास भएको वडाको रुपमा चिनाएको बताउनु भयो ।
२०७२ सालमा उद्योग मन्त्री भए पछि भक्तपुरमा बिकासका लहर आएको सन्दर्भ कोट्याउदै पूर्व सांसद समेत रहनु भएका एमाले उम्मेदवार बस्नेतले भन्नुभयो, “भूकम्प र महेश बस्नेत एकै पटक आयो र महेशले भक्तपुरमा बिकास लिएर आयो, भूकम्पले धेरै क्षति पुर्यायो, त्यतिखेर महेश बस्नेत आयो, राहतको पोको लिएर आयो, हजारौ बण्डल जस्ता लिएर आयो, त्रिपाल लिएर आयो, पीडितहरुलाई बस्ने बासको व्यबस्था गरेर आयो, खानका लागि दाल, चामल, नून, तेल लिएर आयो, लत्ता कपडा लिएर आयो, कुन दलका कार्यकर्ता भनेर होइन, पीडितको घरघरमा पुग्ने गरि राहत बाड्यो, जनताले अहिले पनि त्यो दिन सम्झिरहेका छन्, ती जस्ताबाट बनेको टहरा अहिले पनि ज्यूदै छन् ।”
जब भूकम्प गयो, केपी ओलीको सरकारले सात लाख घरलाई तीन लाखका दरले घर बनाउने रकम बाडेको बताउदै उहाँले भूकम्पले भत्काएको धरहरा, रानी पोखरी, मठ मन्दिर, सडक, पुल, अस्पताल निर्माणलाई उच्च प्राथमिकतामा राखेर बजेटको व्यबस्था गरेर बनाएको उहाँले स्मरण गर्नु भयो ।

उहाँले स्यालको कथा सुनाउदै भन्नुभयो, विपक्षी दलका पछिल्लो अभिव्यक्तिहरुलाई जवाफमा स्यालको कथा सुनाउँदै उहाँले भन्नुभयो, ‘स्यालले रुखमा पाकेको स्याउ देख्छ । अनि उफ्री उफ्री खान खोज्छ, तर सक्दैन । अनि अरुलाई त्यो स्याउ त अमिलो छ, खायो भने पेट दुख्छ, झाडा पखला लाग्छ । यो काम नलाग्ने स्याउन हो भन्छ । किन भने त्यो स्याउ खान सक्ने हैसियत छैन ।, अहिले भक्तपुरका विपक्षीको राजनीति त्यस्तै भएको छ ।”
उहाँले विपक्षी उम्मेदवारलाई व्यंग्य गर्दै भन्नुभयो, “अचेल भक्तपुरका गठबन्धनका उम्मेदवारले आफ्नो परिवार, दाजुभाई, आफन्त खोज्दै हिडेका छन् । ३०–४० वर्ष नचिनेको आफन्त खोज्दै हिडेका छन् । उनीहरुले आफन्तकामा गएर भन्ने गरेका छन्, महेश बस्नेतको जस्तै विकास गर्छु, गुण्डुको जस्तै विकास गर्छु, किरण थापाको सिपाडोल जस्तै विकास गर्छु, कसम कटुञ्जेमा त्यस्तै विकास गर्छु । नत्र मेरो गाडी जलाई देउ, घर जलाई देउ । भन्न थालेछन् । जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास र समृद्धिको कुनै योजना छैन । त्यस्तै व्यक्तिलाई जनताले राम्रै चिनेका छन् ।”
२०७४ को निर्वाचनमा एमालेले ३६ हजार ४०० भोट ल्याएको चर्चा गर्दै उहाँले एमालेले आफ्ना मतदाताकै घर अगाडि मात्रै बजेट लगेर बिकास गर्यो भन्ने भन्दै बस्नेतले भन्नुभयो, “एमालेले आफ्नो ठाउँतिर मात्रै बिकास गरेका होइन, एमालेले बजेट ल्याएर बिसका गरेपछि सबै एमाले भएका हुन्, एमालेले पैसा खर्च गरेर होइन, बिकास गरेर यहाँको जनतालाई एमाले बनाएको हो ।”
उहाँले भक्तपुरमा तीनवटा स्मार्ट सिटी बनाउने, हनुमन्तेको पीडितलाई क्षतिपूर्तीको व्यबस्था गर्ने, काँग्रेसले कब्जा गरेको सार्वजनिक जग्गा फिर्ता ल्याउने बताउदै गुण्डुमा बन्न लागेको यातायाताको भवन बनाउ दिन्नौ भनेर भन्नेहरु, हात्ती गौडामा बाटो बिस्तार गर्न दिन्नौ भन्नेहरु अहिले आफै चेत खाएको बताउनु भयो ।
सिरुटार सडकको सन्दर्भमा बोल्दै सरकारले रकम नदिएकै कारण ठेकेदारको सडक निर्माण पुरा गर्न नसक्दा किरण थापाले रातारात सामान दिएर बनाउन खोजेको सडकमा समेत अख्तियारमा उजुरी हालेर बिकास रोकेको बताउनु भयो । एमालेले बिकास गर्यो भनेर अख्तियार र निर्वाचन आयोग खोज्न जानेहरुले बिकास गर्छन् भनेर जनताले विश्वास गर्न नसक्ने उहाँको भनाई थियो । एमालेको बिकास अख्तियार र निर्वाचन आयोगमा हालेको उजुरीले रोक्न नसक्ने उहाँको भनाइ छ ।

मेलम्चीको खानेपानी पहिलो पटक भक्तपुरमा आउन नदिने षडयन्त्रलाई चिर्र्दै ओली प्रधानमन्त्री हुँदा पहिलो पटक मेलम्चीको पानी भक्तपुर ल्याउन सफल भएको बताउदै उहाँले भन्नुभयो, “मेलम्ची भक्तपुर नगरमा मात्र डिपिआर भएकोमा सात करोड बजेट छुट्याएर ओली नेतृत्व सरकारले बालकोटदेखि सिपाडोलसम्म मेलम्चीको पानी लैजाने गरि डिपिआर बनाउन छुट्याएको बजेट अहिलको गठबन्धन सरकारले सरकारले कहाँ लग्यो ?”
ओली नेतृत्व सरकारकै पालामा बालकोटको २, ३, ५ र ६ मा ढलको लागि ३७ करोडमा गरेर टेण्डर गरेको तर बालकोटको ढल समितिलिे रोके पछि एमालेले नै त्यस्ता समस्या सुल्झाएर ढलको व्यबस्था गरेको बताउनु भयो ।
ओलीकै पालामा सूर्यविनायक ७ गुण्डु र सिपाडोल ८ मा ढलका लागि तीन अर्ब बजेट छुट्याएको बताउदै उहाँले डोलेश्वर र अनन्तलिडेश्वर, दक्षिण बाराही जस्ता मठ मन्दिर, साँस्कृतिक सम्पदा, विद्यालय, अस्पताल र स्वास्थ्य चौकीको निर्माण र स्तरोन्नती गरे पनि निर्वाचनको बेलामा अनेकौ प्रपोगाण्डा गर्नेहरुलाई जनताले जवाफ दिने बताउनु भयो ।

उहाँले भन्नुभयो, “त्यतिबेला माओवादी, वाईसिएलले दिनदहाडै अपहरण, लुटपात, धम्की दिदै हिड्दा तपाईहरुकै छोरो, भक्तपुरको छोरो महेश बस्नेतले वाइसिएसको ज्यादतीलाई रोकेर ठिक ठाउँमा ल्याए वापत मलाई गुण्डा आरोप लगाउने ?” नयाँ बस्ती र पुरोना बस्ती बिचको द्धन्द्धमा १५ वर्ष अगाडि घर छाडेर भाग्नु पर्ने अबस्थाको अन्त्य गर्दै एमालेले देशभरिका मानिसहरु भक्तपुर बस्न सक्ने, भक्तपुर शान्ति, बिकास, सद्भावपूर्ण थलोमा परिणत गरेको बताउनु भयो ।
पलोसेको भाइरल प्लानिङको बिरोध गर्नेहरु नै अहिले चुनाब खर्च उठाउन तीन करोड मागेको प्लानिङका साथीहरुले गुनासो गरेको बताउदै उहाँले भन्नुभयो, “भोट होइन पैसा माग्छन् । व्यवसायीहरु भन्छन् रे, महेश तीन पटक उठिसके, अझैसम्म पैसा माग्न आएनन्, तपाईहरु पहिलो पटक मै पैसा माग्ने ?, अनि बिरोध पनि गर्ने, पैसा पनि माग्ने ?”
उहाँले गठ्ठाघरको टेण्डर भएको पुल किन बनेन, हनुमम्ते करिडोर किन बनेन, किन त्यहाँ डिपिआर बन्न दिदैनन्, हनुमन्ते करिडोर बन्न नदिन काँग्रेसले संस्थागत निर्णय गर्छन्, वडाध्यक्ष सिफारिस दिदैनन, सांसद र मेयरलाई निषेध गर्छन् र विकास अगाडि बढाउन दिदैनन् भन्दै बस्नेतले गठबन्धन सरकारले रोकेका सबै योजनाहरु ल्याउछौ र काम गरेर देखाउछौ भन्नुभयो ।
भक्तपुरमा तीन स्मार्ट सिटी, एकिकृत स्वाथ्य बिज्ञान प्रतिष्ठान, उच्चस्तरको क्यान्सर सेन्टर, मुटुसहितको उच्चस्तरको मानव अंग प्रत्यारोपण केन्द्र बनाउन आफूले दुईवर्ष अगाडिदेखि पहल गरिरहेको बताउदै उहाँले भक्तपुर अस्पतालमा ६ बर्ष आईसियू खोल्न नदिएर निजी अस्पतालमा बिरामी लगेर जताजतै कमिसन खानेहरु अहिले अहिले स्वास्थ्य निःशुल्क गर्छौ भन्दै हिडेको बताउनु भयो ।
चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजलाई सोम मिश्र, नवराज गेलाललगायतले सरकारी र समाजिक कलेज बनाएर नगरपालिका अन्तर्गत ल्याउन निकै पहल गरेको बताउदै तर अहिले १० करोडको खेल खेल्दै फेरी लम्बोदरलाई नै फिर्ता पठाउने गरि चलखेल भएको उहाँले दाबी गर्नु भयो ।
भक्तपुर अस्पताललाई डा. सुमित्रा गौतमले प्रदेशको उत्कृष्ट अस्पताल बनाए वापत उहाँलाई हटाएर आफ्नो भान्जी ज्वाईलाई प्रमुख बनाउदै मासिक पाँच लाख कमिसन खाने गरेको दाबी गर्दै यस्ता धेरै कर्तुतहरु अझै बाहिर आउने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा ‘क’ सूर्यविनायक क्षेत्रका उम्मेदवार किरण थापाले एमालेको नेतृत्वमा असंख्य विकास निर्माणका कार्यहरु गरी जनतालाई जनप्रतिनिधि भएको आभास गराएको उल्लेख गर्नुभयो । सडक, पुल, विद्यालय, अस्पताल, खानेपानी, ढल लगायतका कार्यहरु भएको उल्लेख गर्दै उहाँले चालु आयोजनाहरु पुरा गर्न आगामी निर्वाचन पछि एमालेको नेतृत्वको सरकार अनिवार्य रहेको बताउनुभयो । जनताले मंसिर ४ गते पछि विजयको माला लगाउन आउनु भनि जनताले आर्शिवाद दिइरहेको उल्लेख गर्दै उहाँले विजय पश्चात जनताको माग, चाहना र आवश्यकता अनुसारको विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । एमालेको उम्मेदवारहरु सम्पूर्ण जनताको भएको उल्लेख गर्दै उहाँले एमालेको उम्मेदवारका विपक्षी उम्मेदवारहरु जनतालाई थाहा समेत नभएकाहरु भएको बताउनुभयो । गठबन्धनका उम्मेदवारहरुको कुनै पनि चुनावी एजेण्डा नभएको उल्लेख गर्दै उहाँले गठबन्धनका उम्मेदवारहरु भ्रम फैलाउने गाली गलौजमा नै सिमित भएको भन्दै आक्रोस जनाउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभाका समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजालगायतले बोल्नुभएको थियो । त्यस्तै कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मलकुमार भट्टराई, एमाले बागमती प्रदेश सदस्य शशी जंग थापा, राजेन्द्र राजथलालगायतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

