शुक्रबार, जेष्ठ १०, २०८२ | Fri May 23, 2025


वागेहिटीको तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण

वागेहिटीको तीनतले शिवलिङ्गको ‘त्रिलोकेश्वर’ नामाकरण



भक्तपुर, २२ बैशाख : रत्नागिरी पर्वत रहेको ऐतिहासिक भूमि चाँगुनारायण नगरपालिका–७ वागेश्वरीको वागेहिटीमा रहेको तीनतले अद्भुत शिवलिङ्गको नामाकरण गरिएको छ ।

वागेहिटी मन्दिरमा चाँगुनारायण नगरपालिका नगरकोट भ्रमण वर्ष–२०८२ सचिवालयले आयोजना गरेको बृहत छलफल एवं शिवलिङ्गको नामारकण कार्यक्रममा सहभागि धार्मिक, आध्यात्मिक, साँस्कृतिक, पुरातात्विक, ऐतिहासिक लगायत विद्वत् वर्गको बृहत छलफल र धार्मिक ग्रन्थको आधारमा उक्त शिवलिङ्गलाई ‘त्रिलोकेश्वर महादेव’ नाकाकरण गरिएको हो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बिद्धतवर्गको भेला एवं धार्मिक ग्रन्थ र यहाँ पाईएका अभिलेखका आधारमा आज त्रिलोश्वर महादेवको नामबाट नामाकरण हुँदा यो ठाउँले न्याय पाएको महसुस भएको बताउनुभयो ।

यसको अझै अध्ययन, अनुसन्धान र खोज हुनपर्ने बताउदै उहाँले पाका पुस्ता एवं पुजारीले यहाँको धारोमा राती सेतो बाघ आएर नुहाएर त्यसको माथि रहेको देवीको मन्दिरमा जाने गरेको देखेर नै बाघले नुहाउने धाराबाट यो तीर्थस्थलको नाम बाघेहिटी रहन गएको बताउनुभयो ।

नगरकोटस्थित महादेव पोखरीको जल यहाँ आएर बाल्मिकेश्वर महादेव मन्दिर र भक्तपुर तलेजुसम्म जाने गरेको यथार्थता रहेको भन्दै उहाँले नगरकोट भ्रमण वर्षलाई जोडेर यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोपबहादुर वाईवाले तीनतले शिवलिङ्ग आफूले यहाँ मात्रै देखेको बताउदै यस्ता सम्पदाको संरक्षण गर्ने र पर्यटकीय गन्तव्य बनाउने कार्यको थालनी गर्नु पर्ने बताउनुभयो ।

प्रा.डा. दिनेशराज पन्तले पुरातात्विक सम्पदा क्षेत्रमा बिकृति देखिने गरि आधुनिक निर्माण रोकिनु पर्नेमा जोड दिदै हाललाई यो मन्दिरको नाम त्रिलोकेश्वर राख्नु नै उपयुक्त हुने बताउनुभयो ।

कार्यक्रममा पशुपति विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनले यहाँको शिलालेखले यो लिच्छवीकाल भन्दा पुरानो हुन सक्ने बताउदै यहाँ रहेको धारा शिवपुरीको बाघद्धारमा र यहाँ मात्रै रहेको दाबी गर्नुभयो । उहाँले तीनतले शिवलिङ्ग भेटिएको २९ वर्षपछि नामाकरण गर्ने अवसर जुरेको भन्दै बिभिन्न नामहरु राख्न सकिने भए पनि तत्काललाई तीनलोकको प्रतिनिधित्व गर्ने त्रिलोकेश्वर राख्न सकिने बताउनुभयो ।

यो पनि पढ्नुहोस  स्वास्थ्य समस्या समाधान गर्न भोलीदेखि सुरु हुने सदनले स्वास्थ्य विधेयक पारित गर्छ : मन्त्री थापा

त्यसअवसरमा पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले शास्त्रसंम्वत दृष्टिकोणलाई नियाल्दा यहाँको शिवलिङ्ग तीनवटा जलहरि रहेको स्वर्ग, मत्र्य र पाताल तीनैलोकको प्रतिनिधित्व गर्ने भएकाले त्रिलोकेश्वर नामनै उपयुक्त हुने बताउनभयो ।

पशुपति बिकास कोषका पूर्व सदस्य सचिव प्रा. चेतुनाथ गौतमले यहाँ आएर विशिष्ट प्रकारको शिवलिङ्गको दर्शन गर्न पाएको भन्दै मूर्तिको नामाकरण गर्दा नामसंग तादम्यता र पूजा बिधि मिल्नु पर्ने, मूर्तिको लक्षणका आधारमा नामकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ईतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठले दक्षिण एशियामै दूर्लभ मानिने यस प्रकारको शिवलिङ्गलाई त्रिलोकेश्वर वा त्रिलिंङ्गेश्वर नाम दिन सकिने बताउनुभयो ।

यसरी भेटिएको थियो तीनतले शिव लिङ्ग :

स्थानीय माधव लामिछानेले २०४५ सालमा सरसफाईको क्रममा जंगलभित्र एउटा सानो धारो र एकखुट्टे भ¥याङ्ग भेटिएको, २०४८ सालमा पानी कूलो सरसफाई गर्नेक्रममा गाँढिएको अबस्थामा नारायणको मूर्ति, ढुङ्गाको सानो मन्दिर र एक शिललिङ्गलाई नारायणले माथिबाट छोपिएको अबस्थामा भेटिएको बताउनुभयो ।

२०५५ सालमा तत्कालिन गाविस अध्यक्ष राधाकृष्ण लामिछानेले वागेहिटी संरक्षणका लागि रु. १५ हजार बजेट विनियोजन गरेपछि सानो मन्दिर सफा गर्दै सातवटा नागले जेलिएको जलहरि र त्यसको तल करिब साढेँ तीन फिट सर्प रहेको अबस्थामा तीन तले अद्भूत शिवलिङ्ग भेटिए पनि वास्तविक नामाकरण भने गर्न नसकेको बताउनुभयो । तत्पश्चात पुरातत्व विभागले रु. तीन लाखमा मन्दिर निर्माण गर्दै संरक्षणको थालनी गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय अर्जुनप्रसाद बास्तोला, पूर्वन्यायाधिस सहदेवप्रसाद बास्तोला, मोहन खनाल, राधाकृष्ण लामिछाने, शिवअवतारी लामालगायतले नामाकरणले मन्दिर र बागेहिटी क्षेत्रलाई विश्वका हिन्दूधर्मावलम्बीहरु माझ प्रचार गर्नुपर्ने औल्याउनुभयो ।

नगरकोट भ्रमण वर्ष सचिवालयका प्रमुख डा. धनश्याम खतिवडाले शिवलिङ्गको नामाकरणले धेरै वर्षदेखिको अन्योलता हटेको र अबदेखि त्रिलोकेश्वर महादेव मन्दिरकै नाममा श्रावणी मेला सञ्चालन गर्न सकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित