भक्तपुर, २३ असोज । जेनजी आन्दोलनले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकार मात्रै ढलेन, ओलीसहित थुप्रै शीर्ष नेता जिऊ नै जोगाउन मुस्किल अवस्थामा पुगे । ओली स्वयं १० दिन सेनाको सुरक्षा घेरामा बसेका थिए ।
आन्दोलनका बिच उनीसहित थुप्रै नेताको निजी निवास पनि जलेको थियो । सुरक्षा घेराबाट बाहिर निस्किएपछि ओली यतिबेला भक्तपुरको गुण्डुमा छन् । उनी त्यहीँबाट राजनीतिक गतिविधि गरिरहेका छन् ।
आन्दोलनपछि लामै समय आन्तरिक छलफलमा रहेका ओलीले बिहीबार मञ्चबाटै सार्वजनिक रूपमा आफ्ना भनाई राखे । ओलीले पुरानै शैलीमा विरोधीमाथि प्रहार गरे । विशेषगरी आफूसहित तत्कालीन सत्ताको पंक्तिमाथि वर्तमान सरकारबाट थालिएको कदमलाई खुलेर चुनौती दिए । ओलीले वर्तमान सरकारसँग एमाले भिड्न तयार रहेको कुरा खुलारूपमा राखेका छन् ।
“हामीले पञ्चायत देखेका छौँ, निरङ्कुश राजतन्त्र देखेका छौँ, अस्ति भर्खर ज्ञानेन्द्रले गरेको कू पनि देखेका छौँ, प्रतिगमन देखेका छौँ, सबै कुरा देखेका छौँ, जेलनेल भोगेका छौँ, यस्ता कुरा हाम्रा लागि नयाँ होइनन्”, ओलीले वर्तमान सरकार र सरकारका कदमलाई सामान्यकरण गर्दै भनेका छन् ।
सरकारले तत्कालीन आन्दोलनमा गरिएको दमन र जेनजी युवाहरूको मृत्युको कारण देखाउँदै आफूलगायतलाई पक्राउ गर्न थालेको तयारीप्रति पनि उनले खुलेर चुनौती दिएका छन् । उनले अन्तरिम सरकारका गृहमन्त्रीलाई ‘केटाकेटी’को संज्ञा दिँदै धरातललाई हेक्का राख्न पनि चेतावनी दिएका छन् । “सुशीला कार्कीको डरले केपी ओली भाग्छ ?”, ओलीले प्रश्न गरेका छन्, “गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन र सम्हालिन सल्लाह दिन चाहन्छु ।”

‘डिजाइनमा २३ गतेकाे गोली काण्ड’
जेनजी आन्दोलनको पहिलो दिन भदौ २३ मा गोली लागी १९ जना युवा तथा विद्यार्थीको ज्यान गएको थियो । जुन घटनापछि नै आन्दोलन आक्रामक बनेको थियो ।
यद्यपि, तत्कालीन सरकार नेतृत्वको हिसाबले ओलीले उक्त गोली काण्डको जिम्मा लिएनन् । ओलीले उक्त घटना षडयन्त्रमूलक अन्यबाटै रचिएको आरोप लगाएका छन् ।
“२३ गतेको गोली काण्ड, २४ गतेको आगजनी, तोडफोड, लुटपाटका लागि आधार बनाइएको थियो, तयारी थियो”, ओलीले भनेका छन्, “म धेरै भन्न चाहन्न, तर त्यसका लागि गरिएको प्रस्ट हुन्छ ।”
उनले उक्त घटनामा माओवादी, राजावादी र रास्वपाहरूको हात हुनसक्ने आशंका जनाएका छन् । ओलीले अगाडि भनेका छन्, “नेपालमा अस्थिरता कायम गर्छु भन्नेहरू असफल भए, माओवादीले आन्दोलन गर्यो असफल भयो, भड्काउन सकेन, रास्वपा उफ्रियो, करायो, मच्चियो, थच्चियो, केही पनि भएन, राप्रपाले उधुम मच्चाउन खोज्यो केही गर्न सकेन, अहिले सबै चुप लागेर पछाडिपट्टि बसेर जेनजी भन्ने बालबालिका अगाडि सारेर आफू पछाडि बसे ।”
कसैको डिजाइनमा घटनाहरू घटाइएको भन्दै ओलीले युवाहरूलाई सचेत रहन पनि आग्रह गरेका छन् । “नयाँ पुस्तालाई आग्रह गर्छु– तपाईँहरूले धेरै बाँच्नु छ, तपाईँहरू गम्भीर हुनुपर्छ, देश बरबाद बनाइँदै छ, देश अस्तित्व खतरामा छ”, ओलीले भनेका छन्, “युवाहरू सचेत ढंगले अगाडि बढ्नुपर्छ, भ्रष्टाचार र सुशासनको अभियान साझा हो, जारी रहन्छ ।”
‘सरकार नै विदेशीको’
जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वमा बनेको सरकारलाई ओलीले विदेशी डिजाइनको भनी आरोप लगाएका छन् । वर्तमान सरकारबारे ओलीले भनेका छन्, “यो नेपालीको सरकार होइन ।”
कार्की सरकार विदेशीको डिजाइनमा संविधान र लोकतन्त्रलाई मास्न बनाइएको आरोप पनि लगाएका छन् । “अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि संसद् भङ्ग गर्न सर्त राख्नुभयो, संसद् भङ्ग गर्ने पूर्व सर्त राखेर जनताको सर्वोच्च सार्वभौम संस्थाको र लोकतन्त्रको जग भत्काउने सर्तमा प्रधानमन्त्री बन्नुभयो”, ओलीले भनेका छन्, “उहाँहरू एउटा खास उद्देश्य काम गरिरहनु भएको छ, उहाँहरू मुलुकका निम्ति जनताको निम्ति केही गर्दै हुनुहुन्न ।”
‘नक्कली हो कार्की आयोग’
अन्तरिम सरकारले जेनजी विद्रोहमा भएको सरकारी दमनमाथि छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको छ । जसको प्रतिवेदनका आधारमा कारबाही गर्ने तयारी सरकारको छ ।
तर, ओलीले उक्त आयोगलाई नै ‘नक्कली’ भनी टिप्पणी गरेका छन् । उनले उक्त आयोग र आयोगको प्रतिवेदन एमालेका लागि स्वीकार्य नभएको प्रस्ट्याएका छन् ।
“पहिले नै केपी ओली समात्नुपर्छ, थुन्नुपर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनको आधारमा अगाडि बढे भन्ने नाटक गर्ने”, ओलीले भनेका छन्, “यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन । स्वीकार्य छैन ।”
ओलीले आयोगको प्रतिवेदन स्वीकार्य नभएको मात्रै भनेका छैनन्, उनले ‘एमाले चिचिपट खेलेर नआएको’ भन्दै आयोगप्रति नै चुनौती दिएका छन् ।
‘निःशर्त संसद् पुनर्स्थापना हुनुपर्छ’
संसद् विघटनको सहमतिपछि सरकार गठन भएको थियो । सोही सहमतिअनुसार अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले शपथ लगत्तै संसद् विघटनको सिफारिस गरेकी थिइन् । उनको नियुक्तिमै फागुन २१ मा चुनाव गराउने म्यान्डेट राष्ट्रपति रामचन्द्र पौडेलले दिएका छन् ।
तर, ओलीले फागुन २१ मा गरिने भनिएको चुनावलाई अर्थहीन भएको बताउँदै संसद् निःशर्त पुनर्स्थापना हुनुपर्ने कुरा प्रस्ट्याएका छन् । जसमा अन्य दल पनि सहमत हुने विश्वास ओलीको छ ।
“देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद् तत्काल फिर्ता गर्ने मागलाई अगाडि राखेर नै अगाडि बढ्ने बाहेक अर्को विकल्प छैन, मैले विश्वास लिएको छु”, ओलीले भनेका छन्, “नेपाली कांग्रेसले पनि यही बाटोमा आफूलाई अगाडि बढाउने छ, अरू पार्टीहरू पनि यही बाटोमा अगाडि बढ्ने छन् ।”
कानुनी बाटोबाट नभए संसद् पुनर्स्थापनाका लागि आन्दोलनको आँधीबेहरी ल्याउने पनि ओलीको चेतावनी छ । “कतिपय भन्छन्, फागुन २१ गतेसम्म पर्खौँ, चुनाव भएन भने माग गरौँ”, ओलीले भनेका छन्, “पर्खिनु पर्ने अवस्था छैन, अहिले नै नेपाली जनताले आन्दोलनको आँधी–तुफान सिर्जना गरेर अगाडि बढ्नुपर्छ ।”
कार्की सरकारले चुनाव गराएमा निष्पक्ष नहुने र मुलुक अर्को भड्खालामा जाने ओलीको तर्क छ । जसलाई सफल हुन नदिने कुरा ओलीले बताएका छन् ।
“यो सरकारले राज्य आतंक सिर्जना गरेको छ, चुनावको नाटक गरेर नेताहरूलाई जेल हालेर, मुद्दा लगाएर, अपमान गरेर, बुथ कब्जा गरेर, चुनाव लड्न नदिएर, आफू मात्रै चुनाव लडेर दिग्विजय घोषणा गर्ने सपना देखेको होला”, ओलीले भनेका छन्, “त्यस्ता दिवा सपना हुन्, जसको टाउकामा चिसो पानी खन्याइन्छ ।”

