भक्तपुर, २८ कात्तिक : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीकोट गढीको संरक्षण र पुर्ननिर्माणमा पुरातत्व विभागले चासो दिनु पर्ने बताउनु भएको छ ।
मुख्यमन्त्री थापाले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ र वडा नं. ८ मा रहेको रानीकोट–घ्याम्पेडाँडा सडकखण्ड र रानीकोट गढीको अनुगमन गर्दै ऐतिहासिक धरोहरलाई जिवन्त प्रदान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभो । उहाँले पुरातत्व विभागले यसको उत्खनन् सम्पन्न गरि संरक्षण र पुर्ननिमाणमा चासो दिनु पर्ने बताउदै पुर्ननिर्माणमा प्रदेश सरकारले सघाउने बताउनुभयो ।
पुरातत्व विभागले २०७४ साल मंसिर १० देखि १६ गतेसम्म गरेको प्रारम्भिक उत्खननका क्रममा मल्लकालीन दरबारका अवशेष तथा इँटा, झिँगटीजस्ता पुरातात्विक सामग्री फेला पारेपछि थप उत्खनन् गर्ने भन्दै रोकेको उत्खनन् कार्य ९ वर्ष वितिसक्दा पनि पुन सुरु भएको छैन ।
मुख्यमन्त्री थापाले रानीकोट गढीलाई उपत्यकाको प्राचीन बस्ती, सुरक्षा व्यवस्था र ऐतिहासिक राजनीतिक गतिविधिसँग जोडिएको महत्वपूर्ण सम्पदाका रूपमा थप अध्ययन, उत्खनन र संरक्षण गर्न आवश्यक रहेको र पुरातत्वलाई उत्खनन्को कार्यलाई पुन सुचारु गर्नु पर्ने बताउनुभयो ।

उहाँले सूर्यविनायक क्षेत्रको ऐतिहासिक धरोहर रानीकोट हुदै काभे्रको पनौती जाने छोटो सडकको रुपमा जोडिएको बताउदै उहाँले भक्तपुर खण्डको घ्याम्पेडाँडा–रानीकोट सडक वर्षाको पानीले जीर्ण बनाएकाले यसको स्तरोन्नती आवश्यक रहेको बताउनुभयो । यहाँको सडकको समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक पहल र सम्बन्धित निकायबीच समन्वय गरिने उहाँले बताउनुभयो ।
रानीकोट–घ्याम्पे डाँडा सडकखण्डको वर्तमान अवस्था, स्थानीयवासीले भोग्दै आएका समस्या तथा पर्यटकको आवागमनमा पारेको असरबारे स्थानीय पर्यटन व्यवसायी एवं होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले जानकारी गराउनुभयो ।
उहाँले रानीकोट गढीँको उत्खनन्, संरक्षण र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु पर्ने बताउदै उहाँले रानीकोट पुग्ने मुख्य सडक खण्ड जीण भएकाले तीन तहकै सरकारले यसको निर्माणमा चासो दिनु पर्ने बताउनुभयो ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले घ्याम्पेडाँडा–रानीकोट सडकखण्ड स्तरोन्नती आवश्यक रहेको बताउँदै सूर्यविनायकको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा यसको विकास गर्नु पर्ने औल्याउँनु भयो । पनौती जान निकै छोटो सडकको रुपमा पहिचान बोकेको यो सडकबाट दैनिक सयौ सवारी साधन ओहोर दोहोर गर्ने गरेको बताउदै काभ्रेतर्फबाट पनि स्तरोन्नती हुदै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

